आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सामा मस्जिदमा सुँगुरको टाउको फ्याँकेर धार्मिक सद्भाव भड्काउने योजना बनाइरहेका तीन जनालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन।
मंगलबार राति करिब १० बजेको समयमा वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुको साथबाट ९ थान सुतली बम, एक थान सुँगुरको टाउको तथा करिब १० मिटर वायरिङ तार बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरु मस्जिदमा सुँगुरको टाउको फ्याँकेर धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउने तयारीमा रहेका थिए। इस्लाम धर्ममा सुँगुरलाई अपवित्र मानिने र मस्जिद मुस्लिम समुदायका लागि अत्यन्त पवित्र स्थल भएकाले यस्तो कार्य धार्मिक आस्थामाथि सीधा आघातको रूपमा लिइन्छ। पवित्र स्थलमा जानाजानी अपवित्र ठानिने वस्तु राख्दा समुदायबीच आक्रोश, अविश्वास र तनाव उत्पन्न हुन सक्ने भएकाले यसलाई धार्मिक सद्भाव भड्काउने प्रयासका रूपमा हेरिएको प्रहरीले जनाएको छ।
समयमै सुरक्षाकर्मी परिचालन गरिएकाले सम्भावित अप्रिय घटना टरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि विस्फोटक पदार्थ सम्बन्धी कसूर, सार्वजनिक शान्तिविरुद्धको कसूर तथा निर्वाचन सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइनेछ।
मधेश प्रदेश प्रहरी कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल र्पुयाउने गतिविधि सह्य नहुने चेतावनी दिएको छ।



