निजगढ नगरपालिकाले आयोजना गरेको पाँचौँ राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिताको उपाधि निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ।
शुक्रबार सम्पन्न प्रतियोगितामा २९ स्वर्णसहित कुल ५८ पदक जित्दै गौरीशंकर माविले ट्रफी उचालेको हो। विद्यालयले १९ रजत र १० कास्य पदक समेत हात पार्दै समग्र पदक तालिकामा स्पष्ट अग्रता बनाएको थियो। विजेता टोलीलाई नगर प्रमुख सुरथ पुरीले ट्रफी तथा मेडल प्रदान गरेका थिए। सो अवसरमा विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झा तथा खेलाडीहरूलाई सम्मान गरिएको थियो।
प्रतियोगितामा निजगढ–६ स्थित गौरीशंकर मावि सडकटोलले ६ स्वर्ण, ५ रजत र ७ कास्यसहित १८ पदक जित्दै दोस्रो स्थान हासिल गर्यो। त्यस्तै निजगढ–५ को सार्वजनिक माविले ३ स्वर्ण, ५ रजत र ७ कास्य गरी १५ पदक जित्दै तेस्रो स्थानमा चित्त बुझायो।
निजगढ–७ को नेत्रोदय माविले ३ स्वर्ण र ३ रजत पदक जित्दा सोही वडाकै विद्यासागर इङ्गलिस बोर्डिङ्ग स्कुलले १ स्वर्ण र १ रजत पदक हात पार्यो।
प्रतियोगितामा सहभागी अन्य विद्यालयहरूमा नेरामावि निजगढ–११ रतनपुर, निजगढ–८ को बकैया ठाकुर मावि, निजगढ–१० को नेरामावि लाल, निजगढ–१ सिंगौल, निजगढ–९ को होली एन्जल्स इङ्गलिस बोर्डिङ्ग स्कुल, निजगढ–४ को जनकल्याण आवि र निजगढ–९ को जनज्योति आवि रहेका थिए। यी विद्यालयले भने स्वर्ण पदक जित्न सकेनन्।
बकैया ठाकुर माविले ६ रजत र ४ कास्य, रतनपुरले ४ रजत र ४ कास्य, नेरामावि लालले ३ रजत र ९ कास्य, सिंगौलले ३ रजत र ४ कास्य, होली एन्जल्सले १ रजत र ४ कास्य तथा जनकल्याण आविले १ रजत र ३ कास्य पदक जितेका थिए। जनज्योति आवि ठाडोलाइनले १ रजतमै सीमित रहँदा निजगढ–४ को नेराआविले कुनै पनि पदक हात पार्न सकेन।
नगर कार्यपालिकाको आयोजनामा निजगढ–९ स्थित सहिद हिरालाल रङ्गशालाको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र तेक्वान्दो विधामा नगरभित्रका विभिन्न विद्यालयका छात्रछात्राबीच प्रतिस्पर्धा गराइएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम लामिछानेले जानकारी दिए।



