राजनीतिक दलहरूले चुनावको मुखमा निर्वाचन आचारसंहिता विपरीत बजार क्षेत्रलाई कोलाहल मच्चाएका छन ।

फागुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलक्षित दलहरूको प्रचारप्रसार तीब्र छ । गाडीमा डिजे र ई–रिक्सामा चर्काे आवाजमा पार्टीगत गीत घन्काउँदै उम्मेदवारको प्रचारप्रसार गर्दा गाउँशहरमा ठूलो आवाजले जनताको टाउको दुखाइ भएको छ ।

प्रमुख राजनीतिक दलहरू बिहानैदेखि राति अबेरसम्म ठूलो आवाजमा पार्टीगत चुनावी गीत बजाइरहेका छन भने अनुमतिबिनानै ई–रिक्सा र निजि सवारी साधनमा चुनाव चिह्न र झण्डा फहराइएका छन।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमालेका गीतहरूले अहिले बारा जिल्लाभर माइकिङ गरिरहेका छन।

बारा क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकारी शम्भु कुमार बस्नेतले दलहरूका गीत घन्काएर हिँड्ने प्रचारप्रसार शैली आचारसंहित विपरीत रहेको बताए । ‘दलहरूले यस्तो गर्न पाइँदैन,’ अधिकारी बस्नेतले भने, ‘सानो हाते माइक उम्मेदवारको गाडीमा मात्रै राख्न पाइन्छ । गाडीमा २ वटा झण्डा, एउटा चुनाव चिह्न मात्र राखेर हिँड्ने हो । अरु गर्न पाइँदैन । यस्तो गर्ने दलको नाममा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पनि गर्नुपर्छ ।’

निजगढका व्यवसायी प्रकास श्रेष्ठलाई छिनछिन पसल अगाडिबाट चर्काे साउन्डमा बज्दै ओहोरदोहोर गर्ने गीतले हैरान बनाएको छ । उनी सबै राजनीतिक दलले यस्ता कार्य रोक्नुपर्ने सुझाव सामाजिक सञ्जाल फेसबुकबाट दिएका छन । ‘मतदाताले कसलाई मत दिने भनेर मानसिकता बनाइसकेका छन,’ उनी भन्छन, ‘ध्वनी प्रदुषण गराउँदै भोट केमा फलानोमा भन्दै डिजे साउन्ड बजाउनु बजारवासीको टाउको दुखाइ भएको छ ।’

अहिले दलहरूको चुनावी प्रचार शैली भड्किलो छ । हरेक घरमा चोकचोकमा पार्टीका चुनाव चिह्न र झण्डा फहराइएका छन । यस्तो कार्य गर्न पनि निर्वाचन आचारसंहिताले दिँदैन । दलहरूले अहिले निर्वाचनको अन्तिम रापतापमा छन ।

कोल्हवी अर्की स्थानीय भन्छन दुईदिनदेखि शान्त कोल्हवीलाई बिहानैदेखिको चर्काे स्वरको साउन्डले अशान्त जस्तै बनाउन थालेको बताइन । ‘उम्मेदवारसँग पार्टीले गर्ने घरदैलोमा गाडीको लावा–लस्कर देखिन्छ, प्रायःजसो सबै गाडीहरूमा ठूला साउन्ड सिस्टम जोडिएका छन,’ उनले भनिन् ।

निर्वाचन अधिकृतको कार्यालयमा स्थानियहरुले बजारमा ध्वनि आतंक भएको भन्दै नियन्त्रणको लागि भनेर पटक–पटक फोन आउने गरेको जनाएको छ।

‘यो कार्य आचारसंहिता विपरीतको कार्य हो,’ अधिकारी बस्नेतले भने, ‘मैले दलहरूलाई पनि फोनबाटै सचेत गराएको छु । केही कुराहरू सम्बोधन पनि भएका छन, केही भएका छैनन् । कार्यालयमा उजुरी चाहिँ अहिलेसम्म परेको छैन । परेछ भने स्पष्टीकरण सोधिन्छ ।’

निर्वाचन आचारसंहिताप्रति दलहरूको ध्यान नपुगेको केहीको बुझाइ छ । दलका नेताहरूले मतदाता शिक्षाप्रति ध्यान दिनुको साटो गीत घन्काउनमा ध्यान दिएका छन ।

यसैबीच बारा जिल्लामा निर्वाचन आचारसंहितासम्बन्धी अनुगमन कडाइका साथ अघि बढाइएको छ। नेपाली कम्युनिस्ट पार्टीको चिउटाहा क्षेत्रमा राखिएका ब्यानर, झण्डा तथा गाडीमा जडान गरिएको डिजे उपकरण हटाइएको छ भने कोल्हवीदेखि सिहासनी चौकसम्म राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ब्यानर र झण्डासमेत हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार प्रचारप्रसार सुरु भएदेखि नै विभिन्न राजनीतिक दललाई मौखिक रूपमा सचेत गराइएको थियो। तर निर्देशनको पालना नगरेपछि निर्वाचन आचारसंहिता विपरीतका सामग्री र गतिविधि नियन्त्रण गर्न बाध्य भएर हटाउने कदम चालिएको कार्यालयले जनाएको छ।

यस विषयमा नेपाली कम्युनिस्ट पार्टीका नेता रविराज दगालले आजदेखि डिजे बजाउने तथा अनावश्यक हल्लाखल्ला गर्ने कार्यमा जिल्ला प्रशासन कार्यालयबाट रोक लगाइएको जानकारी दिए। उनले सबै दललाई राज्यको कानुन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै अघि बढ्न आग्रह गर्दै भने, हामीले त रोक्यौं, अब सबैले नियम मानेर अगाडि बढौं भन्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय