बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अच्युत प्रसाद मैनालीले निजगढ नगर क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका छन। चुनावी सरगर्मी बढ्दै जाँदा मैनाली लगातार दोस्रो दिन पनि मतदातामाझ पुगेका हुन।
अभियान अन्तर्गत उनले निजगढ नगरपालिका वडा नम्बर ६ र ७ का विभिन्न टोलबस्तीमा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गरे। स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्नो उम्मेदवारीको उद्देश्य, पार्टीको नीति तथा क्षेत्र विकासका प्राथमिकताबारे विस्तृत जानकारी गराए। विशेषगरी पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
घरदैलोका क्रममा स्थानीयवासीले अविर र फूलमालासहित उम्मेदवार मैनालीको स्वागत गरेका थिए। उनले मतदातासँग सुझाव संकलन गर्दै जनताको अपेक्षाअनुसार योजना अघि बढाउने धारणा राखे।
मतदाता समक्ष मत माग्दै उनले ज्येष्ठ नागरिकबाट आशीर्वाद ग्रहण गर्नुका साथै युवापुस्तासँग पनि संवाद गरेका थिए। जनताले व्यक्त गरेका आशा, भरोसा र गुनासोलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने प्रेरणा मिलेको उनले बताए। ‘जनताको साथ र विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,’ उनले भने।
एमाले युवा नेता दामोदर मैनालीका अनुसार घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। अभियानलाई अझ प्रभावकारी बनाउँदै भोलि पनि निजगढ नगरपालिकाका अन्य वडाहरूमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिने निजगढ एमालेले जनाएको छ।



