बारा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गणेश धिमालले बारागढी गाउँपालिकामा घरदैलो अभियानलाई तीव्रता दिएका छन। बिहिबार उनले बारागढी गाउँपालिका वडा नम्बर ६, ७ र ८ का विभिन्न टोलबस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेण्डा प्रस्तुत गरेका हुन।
अभियान अन्तर्गत धिमालले भोलि पनि बारागढीका अन्य वडाहरूमा पुगेर मतदातासँग संवाद गर्ने कार्यतालिका रहेको रास्वपा बारा जिल्ला सचिव रामहरि खरेलले जानकारी दिए। उनका अनुसार घरदैलो कार्यक्रममार्फत गाउँगाउँमा पुगेर पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको योजना बारे स्पष्ट पार्ने काम भइरहेको छ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले अविर, फूलमाला तथा खादा लगाएर उम्मेदवार धिमाललाई स्वागत गरेका थिए। विभिन्न स्थानमा आयोजित छोटा–छोटा कोणसभामा स्थानीयले रोजगारी, सडक स्तरोन्नति, सिंचाइ र युवापुस्ताको पलायन जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए।



