दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता फागुन ९ गतेदेखि निजगढमा सुरु हुने भएको छ। निजगढ फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलनमार्फत फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

क्लबका उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार प्रतियोगिता १६ वर्षमुनिका खेलाडीहरूलाई लक्षित गरी आयोजना गरिएको हो। निजगढ नगरपालिकाका १३ वटै वडाबाट एक–एक टिम सहभागी हुनेछन। कुल १३ टिमबीच १२ खेल सञ्चालन गरिनेछ। प्रतियोगिताको व्यवस्थापन निजगढ फुटबल क्लबले गर्नेछ भने आयोजना निजगढ नगरपालिका नगर खेलकुद विकास समितिले गर्ने जनाएको छ।

प्रतियोगितामा विजेता टिमलाई ८० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र तथा उपविजेतालाई ५० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरिनेछ भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, टप गोल स्कोरर, उत्कृष्ट खेलाडी र राइजिङ प्लेयरलाई समेत पुरस्कार प्रदान गरिनेछ।

अघिल्लो संस्करणमा विजेतालाई ५१ हजार र उपविजेतालाई ३१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। यसपटक पुरस्कार राशी वृद्धि गरिएको आयोजकले जनाएको छ।

निजगढ नगरपालिकाका शिक्षा अधिकृत उत्तम लामिछानेका अनुसार नगरभरि ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको कुल अनुमानित लागत ५ लाख रुपैयाँ रहेको छ। खेलहरू निजगढ नगरपालिका–९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालन हुनेछन।

पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका सदस्य तथा फुटबल प्रशिक्षक धनबहादुर लामा, क्लबका कोषाध्यक्ष स्वर्ण लामा, सचिव नारायण लामा, प्रशिक्षक निर्दिप जोशी, सन्तोष गुरुङ लगायतको उपस्थिति रहेको थियो।

गत वर्ष सम्पन्न प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको उपाधि निजगढ वडा नम्बर ११ ले जितेको थियो। एन्फा एकेडेमीका प्रशिक्षार्थी निजगढ नगरपालिकाका निवासी विकल रेग्मीको स्मृतिमा नगरपालिकाले प्रतियोगिता सुरु गरिएको हो। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी खोलामा आएको पहिरोमा परी ज्यान गुमाएका निजगढ नगरपालिका–८ निवासी रेग्मीको सम्झनामा हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय