बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अच्युत प्रसाद मैनालीले निजगढबाट औपचारिक रूपमा चुनावी घरदैलो अभियान सुरु गर्नुभएको छ।

उम्मेदवार मैनालीले निजगढ नगरपालिका ४ स्थित सहिद हिरालाल गौतमको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेपछि सिंगौलाबाट अभियानको शुभारम्भ गर्नुभएको हो। शहीदप्रति सम्मान प्रकट गर्दै सुरु गरिएको अभियान अन्तर्गत उहाँले पहिलो दिन नै निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ का विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले अविर र फूलमाला लगाएर उम्मेदवार मैनालीलाई स्वागत गरेका थिए। उहाँले मतदातासँगको संवादमा पार्टीका आगामी नीति, विकासका प्राथमिकता तथा आफ्ना प्रतिबद्धताबारे जानकारी गराउनुभएको थियो।

एमाले निजगढ निर्वाचन परिचालन कमिटीका संयोजक सुदर्शनप्रसाद कोइरालाका अनुसार कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

एमालेले आज पनि निजगढ नगरपालिकामा घरदैलो अभियानलाई निरन्तरता दिने जनाएको छ। संयोजक कोइरालाका अनुसार आज वडा नम्बर ७ बाट घरदैलो अभियान अघि बढाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय