गोकुल घोरसाइने
निजगढ, निजगढमा भोलिबाट शुरु हुन लागेकोे श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव तथा श्रीमद भागवत ज्ञान महायज्ञको तयारी क्रममा निजगढ नगरपालिकाको ६ सडकटोलस्थित श्रीकृष्ण प्रणामी मन्दिर दुलही झै सिंगारिएको छ ।
सात दिनसम्म चल्ने सो महोत्सवको तयारीको क्रममा रंगिचङ्गी बिजुली बत्ति, ध्वजापत्तासहितको साजसज्जा गरेर मन्दिर परिसर दुलही झै सिंगारिएको हो भने निजगढका विभिन्न स्थानमा ठूलाठूला स्वागत द्वारहरु समेत निर्माण गरिएका छन । महोत्सव सफल पार्न स्थानीयले घर, आँगान, सडक र सार्वजनिक स्थलहरुको सरसफाइ गरेर मन्दिर परिसर चिटिक्क पारेका छन ।
महोत्सवको भारतको नवतनपुर धामका आचार्य कृष्णमणी महाराजीले उद्धाटन गर्ने कार्यक्रम रहेको मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दन महाराजले जानकारी दिुनभयो । ‘सबै तयारी पूरा भएको छ, संयोजक जनार्दनले भन्नुभयो, भोलि दिउसो २ बजे कृष्णमणी महाराजीले महोत्सवको उद्धाटन गर्ने कार्यक्रम छ ।’
सोही दिन बिहान मन्दिर परिसरबाट शोभा कलश यात्रा निकालेर निजगढ नगर परिक्रमा गरिने कृष्णमणीले ताम्रपत्र र कलश अनावरण तथा झण्डोत्तोलन गरेर सडकटोलको कृष्ण प्रणामी मन्दिरको उद्धाटन गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । कृष्णमणीले भोलि नै मन्दिर परिसरमा धार्मिक विरुवा ‘खिजडा’ रोप्ने कार्यक्रम पनि रहेको जानकारी दिनुभयो । आयोजक समितिले आज नै निजगढमा मोटरसाइकल ¥यालीको समेत आयोजना गरेको छ । सयौंको संख्यामा ¥यालीमा सहभागीहरुले निजगढ नगरपालिकाको विभिन्न स्थान परिक्रममा गरेका थिए ।
महोत्सवमा भारतको नवतनपुर धामका आचार्य कृष्णमणी महाराजीसहित महामंगलपुरीधाम सूरजका सूर्यनारायण दासजी र मंगलधाम सिक्कीमका श्री ५ भाष्कर महन्तश्री पनि सहभागी हुने मूल समारोह समितिले जानकारी दिएको छ ।
समितिले दिएको जानकारी अनुसार कृष्णमणीजी महाराज भोलि नै निजगढ आइपुग्ने कार्यक्रम छ । वीरगञ्ज नाका हुँदै निजगढ आउनुहुने कृष्णमणीलाई आयोजक समितिको तर्फबाट पथलैयामा स्वागत गरिने र भोलिपल्ट नै निजगढबाट बिदाई गर्ने कार्यक्रम रहेको छ ।
श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदायका प्रमुख ३ ठूला धाममध्ये भारतमा रहेको नवतनपुर तथा महामंगलपुरी सूरज र मंगलपुरी सिक्कीम सबैभन्दा ठूलो र पवित्र तीर्थ स्थल मानिन्छ ।
महोत्सवमा भोलिबाट नै श्रीमततारम सागर १०८ पारायणको पनि आरम्भ हुने छ ।
यसैबीच बाराको निजगढ नगरपालिकाले महोत्सवलाई ध्यानमा राखेर माघ २१ गते बुधबार (भोलि) स्थानीय सार्वजनिक विदा दिएको छ ।
निजगढ नगरकार्यपालिकाको माघ १४ गते बसेको बैठकको निर्णय अनुसार सार्वजनिक विदा दिएको हो । माघ २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव– २०८२ को उद्घाटन समारोहलाई दृष्टिगत गर्दै उक्त दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले जानकारी दिनुभएको छ ।
निजगढ नगरपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू तथा शैक्षिक संस्थाहरू बुधबार बन्द रहने नगरपालिकाले जनाएको छ ।



