निजगढ नगरपालिकामा सम्पन्न योजनाको रकम भुक्तानी दिने क्रममा कर्मचारीहरुले ठेकेदारसंग घुस लिएको भन्ने घटनाको छानबिन गर्न गठन भएको समितिले तयार पारेको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको छ ।
नगरपालिका कार्यालयको सभाहलमा भएको कार्यक्रममा प्रतिबेदन सार्वजनिक गरिएको हो ।
कार्यपालिका सदस्य शर्मिला विकले सामाजिक सन्जालमा दाबी गरेअनुसार कर्मचारीले ठेकेदारसंग घुस लिएको कुनै सबुत प्रमाण फेला नपरेको छानबिन प्रतिबेदनमा जनाइएको छ ।
कार्यपालिका सदस्य विक, कर्मचारीलाई रकम घुस दिएको बताउने भनिएका एस एस वाटर ट्युबेल कन्ट्रक्शन प्रालि चपुरका प्रोपराइटर राजेशकुमार कार्की र उहाँका कर्मचारी सुरज काफ्ले, घुस लिने भनिएका निजगढ नगरपालिकाका कर्मचारीहरुलगायत सम्बन्धित व्यक्तिहरुसंग लिइएको बयानको आधारमा प्राप्त भएका सूचना र थप जाँचबुझ तथा खोजबिनबाट समेत सो सम्बन्धि कुनै सबुत प्रमाण फेला पर्न नसकिएको प्रतिबेदनमा उल्लेख छ ।
प्रतिबेदनमा कार्यपालिका सदस्य विकले आफूसंग रहेको भनेर दाबी गरेको अडियो सामग्री बुझाउन इन्कार गरेको र पूरा बयानसमेत नदिएर छानबिन समितिलाई असहयोग गरेको पनि जनाइएको छ ।
बिना प्रमाण नगरपालिका कार्यालय र कर्मचारीहरुको प्रतिष्ठामा समेत आँच पुग्ने गरी सामाजिक सन्जालबाट सार्वजनिक गरिएको सामग्रीले प्रचलित कानुन र जनप्रतिनिधिहरुको आचारसंहिता उल्लंघन गरेको पाइएकाले सो विषयमा सम्बद्ध व्यक्तिहरुमाथि कानुनी कारबाही हुनसक्ने अवस्था रहेको पनि प्रतिबेदनमा भनिएको छ ।
नगर कार्यपालिका सदस्य विश्वकर्माले सम्पन्न डिप ट्युबेल योजनाको काममा रकम भुक्तानी दिने क्रममा कार्यालयका केही कर्मचारीहरुले ठेकेदारहरुसंग रकम लिएको भन्ने टिप्पणीे फेसबुक पेजबाट सार्वजनिक गरेपछि गत पौष ३० गतेको कार्यपालिका बैठकले वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेर छानबिन कार्य अघि बढाएको थियो ।
प्रतिवदेन सार्वजनिकीकरण कार्यक्रममा निजगढ नगरपालिका नगर प्रमुख सुरत पुरी, उपप्रमुख सोममाया थिङ्ग, छानबिन समितिका संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष सापकोटा, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलगायतको उपस्थिति रहेको थियो ।



