प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको स्थलगत अनुगमन सेनाको हेलिकोप्टरमार्फत बाराको निजगढमा मगलबार आएको समयमा निजगढ नगरपालिकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

निजगढ नगरपालिकाले स्मार्ट सिटी अवधारणाअन्तर्गत संघीय सरकारबाट विनियोजित भए पनि हालसम्म रोकिएका ५ वटा महत्वपूर्ण पूर्वाधार आयोजनाहरु तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

नगर प्रमुख सुरथ पुरीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै निजगढ नगरपालिका राष्ट्रिय गौरवका चार ठूला आयोजनाको संगमस्थल भएको उल्लेख गरिएको छ। काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को प्रवेश विन्दु, प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग तथा वीरगञ्ज–काठमाडौँ रेलमार्गको संयुक्त स्टेशन जस्ता आयोजनाहरु निजगढसँग प्रत्यक्ष रूपमा जोडिएको हुँदा यहाँको विकास देशकै रणनीतिक विकाससँग सम्बन्धित रहेको नगरपालिकाले जनाएको छ।

पत्रमा निजगढ नगरपालिका चुरे पर्वतको काँखमा अवस्थित सुन्दर, स्वच्छ र मनोरम क्षेत्र भएको उल्लेख गर्दै पछिल्ला केही वर्षदेखि निजगढ बारालगाएत रौतहट जिल्लाको दक्षिणी भेगका विद्यार्थीहरुको शिक्षा प्राप्त गर्ने प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गरिएको छ। तीव्र शहरीकरणसँगै जनसंख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको अवस्थामा आवश्यक भौतिक पूर्वाधार, सडक, शैक्षिक संरचना तथा सार्वजनिक सुविधाको माग बढ्दै गएको नगरपालिकाको भनाइ छ।

स्मार्ट सिटी कार्यक्रम अन्तर्गत प्रति आयोजना ३ करोड रुपैयाँका दरले ५ वटा आयोजना संघीय सरकारबाट छनोट भई बजेट विनियोजन भए तापनि हालसम्म ती आयोजनाहरु कार्यान्वयनमा आउन नसक्दा नगरको समग्र विकास प्रक्रिया प्रभावित भएको पत्रमा उल्लेख छ। रोकिएका आयोजनाहरुमा स्मार्ट एप्लिकेशन सहितको बसपार्क निर्माण, विभिन्न वडाहरुमा सडक स्तरोन्नति तथा कालोपत्रे, गौरीशंकर क्याम्पस तथा सामुदायिक विद्यालय भवन निर्माण, साथै गणेशमान सिंह पार्क मोहोरी व्यवस्थापन जस्ता जनजीवनसँग प्रत्यक्ष सम्बन्धित परियोजनाहरु रहेका छन।

नगरपालिकाका अनुसार स्थानीय सरकारको आन्तरिक आम्दानी अत्यन्त न्यून रहेको छ भने संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा सशर्त अनुदानको हिस्सा बढी र वित्तीय समानीकरण अनुदानको हिस्सा न्यून रहेको छ। यसका कारण स्थानीय तहले जनआवश्यकताअनुसार बजेट बाँडफाँट गर्न कठिनाइ भोगिरहेको पत्रमा उल्लेख गरिएको छ। कार्यजिम्मेवारी अत्यधिक र उपलब्ध स्रोत सीमित हुँदा संघीय सरकारबाट प्राप्त यस्ता महत्वपूर्ण आयोजनाहरु समयमै कार्यान्वयन गर्न नसक्दा स्थानीय सरकारमाथि समेत जनस्तरबाट आलोचना बढ्दै गएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख सुरथ पुरीले निजगढ नगर गौरवका यस्ता आयोजनाहरु दीर्घकालीन विकास, व्यवस्थित शहरीकरण तथा आर्थिक गतिविधि विस्तारका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै विनियोजित बजेटको रोकावट तत्काल हटाई सम्बन्धित मन्त्रालय तथा निकायहरुलाई शीघ्र कार्यान्वयनका लागि निर्देशन दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन। उनले समयमै आयोजना सुरु भई सम्पन्न भए निजगढ मात्र नभई सम्पूर्ण मधेस र मुलुककै विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन।

नगरपालिकाले संघीय मन्त्रालयहरुबाट तपसिल बमोजिमका आयोजनाहरु बाहेक अन्य कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम चालु आर्थिक वर्षमा नगरपालिकामा नरहेको समेत जानकारी गराएको छ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीबाट ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले निजगढका विकास आयोजनाहरुको कार्यान्वयनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। प्रधानमन्त्री कार्कीले स्मार्ट सिटी अन्तर्गत रोकिएका आयोजनाहरु नगरको दीर्घकालीन विकाससँग जोडिएको उल्लेख गर्दै संघीय सरकारको प्राथमिकतामा राखिने बताईन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय