निजगढ,
बाराको निजगढ नगरपालिका वडा नम्बर ६ मा आगामी माघ २१ देखि २७ गतेसम्म हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव– २०८१ तथा श्रीमततारम सागर १०८ पारायण, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एंव मन्दिर कलश आवरण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल र श्रीकृष्ण प्रणामी मन्दिर निजगढले शुक्रवार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव तयारीे बारेमा जानकारी गराएको हो ।
महोत्सव स्थलमा संरचना निर्माण, मन्दिर सजावट, बालपार्क, अतिथिहरुको लागि आवास, भोजन, प्रचारप्रशारलगायत तयारीको काम ८० प्रतिशतभन्दा बढी पूरा भएको मुल समारोह समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले जानकारी दिनुभयो । ‘विभिन्न ४३ उपसमितिमार्फत २ महिना अघिदेखि तयारीको काम हुदैआएको छ, अध्यक्ष तिमल्सिनाले भन्नुभयो, निजगढमा पहिलो पटक राष्ट्रियस्तरको कार्यक्रम हुन लागेकाले यसलाई सफल पार्न सोहीअनुसार तयारी पनि भइरहेको छ ।’ उहाँले निजगढको पहिचान, गौरव र धार्मिक पर्यटकीय क्षेत्रहरुको विकास गर्न धर्म महोत्सवले मद्दत गर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै मूल समारोह समितिका संयोजक साहित्यचार्य जनार्दनले पनि अन्तर्राष्ट्रिय स्तरको महोत्सव आयोजना हुनु निजगढबासीको लागि गौरवको विषय भएको बताउनुभयो । ‘नेपालमा हरेक वर्ष एक स्थानमा मात्र यस्तो कार्यक्रम आयोजना गरिन्छ, उहँले भन्नुभयो, यति महत्वपूर्ण र पवित्र कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु सौभाग्य नै हो ।’
देशविदेशमा ख्यातिप्राप्त दर्जनौं विद्धान तथा विदुषि र हजारौ श्रद्धालुहरु सहभागी हुने कार्यक्रमबाट निजगढको पहिचानसंगै स्थानीयमा आत्यात्मिक ज्ञान र शिक्षा पनि अभिवृद्धि हुने विश्वास उहाँले व्यक्त गनर््ुभयो ।
त्यस्तै कार्यक्रममा विदुषि उषा घिमिरेले राष्ट्रमा व्यप्त हिंसा, द्वन्द, वैमनस्यता र व्यभिचारको अन्त्य गरेर सदाचारयुक्त समाज निर्माणको लागि आध्यात्मिक जागरण पैदा गराएर विश्ववन्धुत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले निजगढमा धार्मिक महोत्सव आयोजना गर्न लागिएको उल्लेख गर्नुभयो ।
‘भौतिकवादी विचार र अतिआधुनिक जीवनशैलीले आज राष्ट्र र समाज नै विखण्डनको संघारमा पुगेको छ, उहँले भन्नुभयो, ‘महोत्सवले मानवता र विश्ववन्धुत्वको भावना अभिवृद्धि र समाजमा व्यप्त सबै खाले विकृतिको अन्त्य गर्न मद्दत गर्ने छ ।’ उहाँले आध्यात्मिक जागरणमार्फत मानव जातिलाई एकताको सुत्रमा जोडन सकिने पनि दाबी गर्नुभएको थियो ।
त्यसैगरी सो कार्यक्रममा महोत्सव उद्धाटनको दिन बिहान विशाल र भव्य कलश शोभा यात्रा निकालिने र माघ १० गते प्रचार प्रसारको लागि निजगढ र अन्य पालिकाहरुमा पोस्टर पंप्लेटीङ्ग, माघ १६ गते पत्रकार सम्मेलन र २० गते बिहान ९ बजे मोटरसाइकल ¥याली आयोजना गरिएको पनि जानकारी गराइएको थियो ।
महोत्सव अन्तर्गत प्रतेक दिन ५ बजेदेखि ६ बजेसम्मः मङ्गलारती (प्रातकालीन सेवा), बिहान ६ बजे देखि ७ः३० सम्म योग, ध्यान, चितवनी, बिहान ७ः ३० बजेदेखि ९ः०० सम्म वाणी चर्चा÷आर्शीवचन, बिहान ९ बजेदेखि ९ः३० सम्म अल्पआहर, बिहान ९ः३० बजेदेखि १०ः१५ सम्म सेवा पूजा मंगलाचरण, पुष्पाञ्जली, पाठपारायण प्रारम्भ, बिहान १०ः१५ बजेदेखि १२.१५ बजेसम्म वाणी चर्चा, दिउसो १ः१५ बजेदेखि २ बजेसम्म सन्तमहन्त तथा आगन्तुक अतिथिहरुको शुभभाव प्रवचन, दिउसो २ बजेदेखि ४ बजेसम्म श्रीमद् भागवत कथा वाचन हुने छ ।
त्यसैगरी दिउसो ४ बजेदेखि ४ बजेसम्म सम्मान, दिउसो ४ः३० बजे आरती तथा प्रसाद वितरण, साँझ ६ बजेदेखि ७ सम्म सन्ध्या आरती, राति ८ बजेदेखि १० बजेसम्म भजन, कीर्तन, प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यतालिका रहेको सो अवसरमा जनाइएको थियो ।
महोत्सवमा नवतनपुरीधाम जामनगरका श्रीकृष्ण प्रणामी धर्माचार्य श्रीकृष्णमणीजी, सुरतका सूर्यनारायण दासजी, मंगलधाम सिक्किमका सुधाकर महाराजी, कृपासिन्धु गुरुकुल सिमराकी विदुषी उषा घिमिरेलगायत विख्यात विद्धान तथा विदुषिहरुले धार्मिक प्रवचन दिनुहने छ ।
पत्रकार सम्मेलनको सहजीकरण मूल समारोह समितिका महासचिव प्रकाश सापकोटाले गर्नुभएको थियो ।



