निजगढ नगरपालिकाको नगर कार्यपालिका सदस्य सर्मिला सुनारले सामाजिक सञ्जाल फेसबुकमा प्रकाशित समाचारप्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त समाचार पछि नगर कार्यपालिकाले तत्काल छानविन प्रक्रिया अघि बढाएको हो।
उक्त विषय सार्वजनिक भएसँगै पौष ३० गते बुधबार दिउँसो १ः०० बजे बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउने उद्देश्यले पाँच सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा चार जना नगर कार्यपालिका सदस्य तथा एक जना कर्मचारी सदस्य सचिव रहने व्यवस्था गरिएको छ।
नगर कार्यपालिकाको निर्णयअनुसार गठित समितिलाई घटनासँग सम्बन्धित सम्पूर्ण पक्षको अध्ययन, सरोकारवाला व्यक्तिहरूसँग छलफल तथा आवश्यक कागजातको परीक्षण गरी यथार्थ विवरण संकलन गर्ने जिम्मेवारी दिइएको छ। समितिलाई प्राप्त तथ्यका आधारमा निष्कर्षसहितको राय तथा सुझाव समेटिएको प्रतिवेदन १५ दिनभित्र नगरपालिकामा पेश गर्न कार्यादेश दिइएको छ।
छानविन समितिमा निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटा, १ का वडा अध्यक्ष मंगल लोप्चन, ८ का वडा अध्यक्ष स्वर्ण लामा र नगर कार्यपालिका सदस्य फुलमाया घलान सदस्यका रूपमा रहेका छन भने समितिको सदस्य सचिवको जिम्मेवारी निजगढ नगरपालिकाका गुनासो सुन्ने अधिकारी अजय कुमार उप्रेतीलाई दिइएको छ।
नगरपालिकाले छानविन प्रक्रिया निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित हुने स्पष्ट पारेको छ। साथै, यस विषयको पूर्ण रूपमा समाधान नभएसम्म सम्बन्धित पक्षलाई दिनुपर्ने कुनै पनि प्रकारको भुक्तानी रोक्का गर्ने निर्णयसमेत गरिएको नगरपालिकाका उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले जानकारी दिए।
छानविन समितिको प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक निर्णय लिइने नगरपालिकाले जनाएको छ।




