निजगढ,
थारु नयाँ वर्ष २६५० तथा माघी पर्वको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा आज प्रथम निजगढ कछडिया माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
“अपन समाज अपन पहिचान ।“ “भाषा संस्कृति जोगावेके कछडिया जातीके आह्वान ।“ भन्ने मूल नाराका साथ भएको सोे महोत्सवमा गायक हरिश चौधरी, गायिका मौसम चौधरी, मोडल सगुन चौधरी, सशी चौधरी र डान्सरहरु आश्विन चौधरी, करिना चौधरी तथा थारु कलाकार वर्षा चौधरीले प्रस्तुती दिनुभएको अयोजक समितिका सन्तोष दनुवार कछडियाले जानकारी दिनुभयो ।
कछडिया माघी पर्व व्यवस्थापन समितिको आयोजना र कछडिया उत्थान समिति, निजगढको सहआयोजनामा कार्यक्रम भएको हो । मधेस प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरी प्रमुख अतिथिको रुपमा सहभागी बनेको सो कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ११ का अध्यक्ष सहइया गुरो, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
सांस्कृतिक कार्यक्रम शुरु हुनुअघि कछडिया भेषभुषामा सजिएका स्थानीयले झाकी सहित गाउँ परिक्रममा गरेका थिए ।
यसैबीच माघी पर्वको अवसरमा निजगढ ७ स्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा आज शुभकामना आदानप्रदान तथा भुजा र तिलको लड्डु एंव तरुल खुवाउने कार्यक्रम गरिएको छ ।
विद्यालयका शिक्षक, विद्यार्थीहरुबीच पर्वको अवसरमा शुभकामना आदानप्रदान र विद्यार्थीहरुको दिवा खाजामा भुजा र तिलको लड्डु एंव तरुल खुवाइएको विद्यालयका प्रधानाध्यापक उमेश श्वर्णकारले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली परम्परा र संस्कृतिको संक्षणको लागि विद्यालय विद्यार्थीहरुसले माघी पर्व मनाएका हुन ।



