निजगढ,
निजगढ तिलगंगा आँखा अस्पतालले मोतियाविन्दुका बिरामीहरुको लागि संचालन गरेको शल्यक्रिया शिविर सोमवार सम्पन्न भएको छ ।

४ दिनसम्म चलेको सो शिविरमा १ हजार २ सय ९१ जना मोतिविन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको छ ।

निजगढ तिलगंगाले बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका विभिन्न ग्रामीण स्थानमा संचालन गरेको निःशुल्क आँखा परीक्षण शिविरमा पहिचान भएका मोतिविन्दुका बिरामीहरुलाई निजगढस्थित अस्पतालमा ल्याएर शल्यक्रिया शिविर संचालन गरेको हो ।

अस्पतालका अनुसार आँखा शिविरमा ६ हजार ५ सय जनाको आँखा जाँच गर्ने क्रममा १ हजारभन्दा बढीमा मोतिविन्दु फेला परेको थियो । मोतियाविन्दु फेला परेका बिरामीहरुलाई निजगढस्थित अस्पतालमा राखेर शल्यक्रिया गरिएको अस्पतालका इन्चार्ज दिपक सुवेदीले बताउनुभयो । तिलगंगा अस्पतालकी आँखा रोग विशेषज्ञ चिकित्सक रिता गुरुङ्गको टोलीले शल्यक्रिया गरेको इन्चार्ज सुवेदीले जानकारी दिनुभयो ।

रिजोईस सिंगापुरको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान तथा निजगढ तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको शाखाको रुपमा निजगढ तिलगंगा आँखा अस्पतालले २०८१ कार्तिक महिनादेखि सेवा उपलब्ध गराउँदैआएको छ ।

निजगढ तिलगंगाले आँखाको नियमति जाँच, शल्यक्रिया सेवा, चश्मा तथा औषधि सेवा र नियमित सामुदायिक कार्यक्रम चलाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय