निजगढ,
बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहले जंगलमा खेरजाने पतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन शुरु गरेको छ ।

डिभिजन वन कार्यालय बाराको लागत साझेदारी कार्यक्रम अन्तर्गत ४ लाख १५ हजार रुपैयमा खरिद गरेको चाप कटर हेबी मेसिन संचालनमा आएपछि समूहले प्राङ्गारिक मल उत्पादन शुरु गरेको हो ।
डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीवकुमार झाले मेसिन चलाएर उद्घाटन गरेसँगै समूहमा प्राङ्गारिक मल उत्पादन कार्य शुुरु भएको हो ।

जंगलमा खेर जाने पतिङ्गर संकलन गरेर मल बनाइने समूहका अध्यक्ष खडकबहादुर मोक्तानले जानकारी दिनुभयो । हाल जंगलबाट झाडी सफाइ गरेर ल्याइएको पतिङ्गर (कच्चा पदार्थ) लाई मेसिनको प्रयोग गरेर कटिङ्ग गर्ने र त्यसपछि गोदाममा राखेर आवश्यक तापक्रम दिएपछि मलको रुपमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

अध्यक्ष मोक्तानले निजगढ नगरपालिकाले उपलब्ध गराउने मल फिट्ने र चाल्ने मेसिन जडान भएपछि मेसिनले पूर्ण क्षमतामा उत्पादन गर्ने बताउनुभयो । नगरपालिकाले समूहको लागि १० लाख रकम बराबरको मेसिन खरिद गर्न टेण्डर गरिसकेको र केही दिनभित्र कार्यालयमा आइपुग्ने बताइएको छ ।

मेसिन सञ्चालनमा आएसँगै वन उपभोक्ता समूहले प्राङ्गारिक मल उत्पादनलाई नियमितरूपमा अघि बढाउने जनाएको छ । जंगलमा खेर जाने झारपात र पतिङ्गरको प्रयोगबाट कृषि कार्यको लागि उपयोगी प्राङ्गारिक मल तयार पारेर उपभोक्ताहरुलाई बिक्री गरिने जनाइएको छ ।

मल उत्पादन शुरु भएपछि फोहर व्यवस्थापन, वातावरण संरक्षणमा टेवा र कृषिजन्य उत्पादन वृद्धि तथा समूहको आय आर्जनमा टेवा पुग्ने समूहका सचिव रामकुमार सिंजालीले विश्वास व्यक्त गर्नुभएको छ ।

मेसिन उद्धाटन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्ला अध्यक्ष रामजी बजगाई, वन अधिकृत शर्मिला नेपाल, डिभिजन वन कार्यालय सिमराका रेञ्जर निरज पोखरेललगायत समूहका पदाधिकारी र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय