निजगढ,
निजगढ नगरपालिका वडा नम्बर ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समुहको वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
साधारण सभामा उपभोक्ताहरुबीच सहमति हुन नसक्दा शुक्रवार नै गर्ने भनिएको नयाँ कार्यसमिति चयन भने केही समयपछि पछि मात्रै हुने भएको छ ।
उपभोक्ताबीच सहमति हुन नसक्दा नयाँ कार्यसमिति चयन हुन नसकेको निर्वाचन मण्डलका संयोजक एंव सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले जानकारी दिनुभयो । उपभोक्ताहरुबीच आम सहमति गरेर आगामी १५ दिनभित्र नयाँ कार्यसमिति चयन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
नयाँ कार्यसमिति चयनको लागि साधारण सभाले बजगाईसहित निजगढ सवडिभिजन वन कार्यलयकी अधिकृत शर्मिला नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापा सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको छ ।
यसअघि समूहका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको सो साधारण सभाको उद्धघाटन निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले वन समूहको व्यवस्थापनको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रममा वन अधिकृत नेपाल, महासंघ बाराका अध्यक्ष बजगाई, लेखा समिति संयोजक बद्री चिमोरिया, समूहकी सचिव बबिता सापकोटा, समूहका पूर्व अध्यक्ष कर्णबहादुर लामालगायतले बोल्नुभएको थियो ।
साधारण सभाको बन्द सत्रले अध्यक्ष पाण्डेले समूहको प्रगति प्रतिवेदन र आगामी कार्ययोजना तथा कोषाध्यक्ष गणेश भण्डारीले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसहमतिले पारित गरेको छ ।



