गोकुल घोरसाइने

निजगढ,  जेनजी आन्दोलनको नाममा गरिएको आगजनीबाट वडा कार्यालय भवन ध्वस्त बनेपछि निजगढ नगरपालिका वडा नम्बर १२ चिसापानीका सर्वसाधारणलाई कार्यालयको सेवा लिन २ घण्टा पैदल हिडनुपर्ने भएको छ ।

गत भदौं २४ गतेको आगजनीमा जलेर नष्ट भएपछि सो वडाको चिसापानी, बुङ्गजोरलगायत गाउँका सेवाग्राहीहरु करिव १० किमी टाढा पर्ने वडा नम्बर १३ को वडा कार्यालयमा पुगेर सेवा लिन बाध्य भएका हुन ।

‘आफ्नै गाउँको कार्यालय भवनमा आगो लगाइयो, चिसापानीकी अगुवा महिला जोसीमायाले भन्नुभयो, टेम्पुमा आउजाउ गर्दा २ सय रुपैया लाग्छ, पैदललै जाऊ ४ घण्टा ।’ गाउँका केही व्यक्तिहरुका कारण अहिले सबैलाई दुःख आइपरेको उहाँको भनाई छ । उहाँले कार्यालयबाट सेवा संचालन गर्ने बारेमा वडा कार्यालय र निजगढ नगरपालिका कार्यालयले तत्काल पलह गर्नुपर्ने पनि बताउनुभयो ।

वडा अध्यक्ष ज्ञानबहादुर गोलेले भवन मर्मतमात्रै गरेर संचलन गर्ने अवस्था नरहेकाले वैकल्पिक उपाय खोजेर पायक पर्ने स्थानबाट सेवा सुचारु गर्ने तयारी भइरहेको बताउनुभयो । ‘पूर्णरुपमा नष्ट भएको छ, मर्मत गर्ने अवस्था नै छैन, अध्यक्ष गोलले भन्नुभयो, नयाँ निर्माण गर्न बजेटको खोजी भइरहेको छ ।’ उहाँले गाउँकै केही व्यक्तिहरुले राजनीतिक प्रतिशोधमा जेनजीको नाममा कार्यालयमा आगजनी गरेको बताउनुभयो ।

निजगढ नगरपालिकाले थर्माकोल जडित प्रिभ्याब प्रविधिको सो भवन ४ वर्षअघि ३० लाखको लागतमा निर्माण गरेको थियो ।

आगजनीबाट भवनसहित कार्यालयमा रहेको कागजपत्र, कम्प्युटर, फर्निचर लगायत सबै सामग्री जलेर नष्ट भएको पनि वडा अध्यक्ष गोलेले जानकारी दिनुभयो ।
वडा कार्यालय जलेपछि हाल सो वडाको सेवा भक्तलालस्थित वडा नम्बर १३ को कार्यालयबाट संचालन गर्ने व्यवस्था मिलाइएको छ । वडा सचिव अरुण बस्नेतले दुबै वडाको काम गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय