निजगढ,
निजगढ ७ स्थित सगरमाथा सहकारी संस्थाले वार्षिक साधारणसभाको अवसरमा आँखा शिविर, रक्तदान र अस्पतालका बिरामीहरुलाई फलफूल वितरणसहित निजगढका विद्यार्थीहरुबीच नगरस्तरीय हाजिरी जवाफ, वक्तृत्वकला र चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी कार्तिक २४ गते हुने संस्थाको २५औँ साधारण सभाको अवसरमा कार्तिक २१ गते शुक्रबार निजगढ नगरस्तरीय हाजिरी जवाफ, वकृत्वकला, चित्रकला प्रतियोगिता र २२ गते शनिवार निःशुल्क आँखा जाँच शिविर तथा २३ गते रक्तदान कार्यक्रम र स्थानीय अस्पतालहरुका बिरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम राखिएको सहकारी संचालक समितिका अध्यक्ष भोलाप्रसाद गौतमले जानकारी दिनुभयो ।

संस्था संचालक समितिको २०८२ साल भाद्र ८ गते बसेको बैठकको निर्णयानुसार साधारण सभाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । बैठकले संस्थामा आवद्ध केही सदस्यहरुले आर्थिक वर्ष २०८१÷०८२ मा नियमित जम्मा गर्नुपर्ने बचत जम्मा नगरेको र ऋणको भाखा नाघेका ऋणी सदस्यहरुले आफ्नो कारोबार २०८२ कार्तिक १५ गतेभित्र अनिवार्य रुपमा नियमित गर्नुहुन अन्यथा साधारणसभाबाट प्राप्त हुने सबै प्रकारको लाभबाट बञ्चित हुनुपर्नेछ निर्णय पनि गरेको जनाइएको छ ।

साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्ष गौतमले प्रस्तुत गर्ने आ.व. २०८१।०८२ का प्रतिवेदन, कोषाध्यक्ष बच्चुराम लामिछानेको आर्थिक प्रतिवेदन तथा प्रस्तावित वार्षिक बजेट उपर छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी सभामा लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा आ.व.२०८२।०८३ को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्नेलगायत विषयमा छलफल गर्ने कार्यसूची रहेकोे अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

सोही अवसरमा सहकारीले विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण र भाग्यशाली चिट्ठा कार्यक्रम पनि संचालन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय