निजगढ,
निजगढ ३ सिंगौलस्थित टाँसिधार्गेलीङ बौद्ध गुम्बामा यस वर्ष लाग्ने मेलाको व्यवस्थापन गर्न स्थानीय युवा संजिव योन्जनको अध्यक्षता १७ सदस्यीय मेला व्यवस्थापन मुल समिति गठन गरिएको छ ।
गुम्बा व्यवस्थापन समितिले मेला सम्बन्धि छलपफल गर्न आयोजना गरिएको स्थानीयको भेलाले योन्जनको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु लामाले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्षमा चम्पा मगर, सचिव युवराज बल र कोषाध्यक्षमा सरोज लामा रहेका छन ।
त्यसैगरी मेला समितिको सदस्यहरुमा सुनिल लामा घलान, दिनेश डासेली, लवइन बल, बिकास श्रेष्ठ, सुशिल खुलाल, युवराज पुलामी मगर, सदाम हुसेन, कविता योन्जन, अमृत राउत, सोनी बोम्जन श्रीकृष्ण सापकोटा, अन्जली सारु मगर र डोल्मा घलान रहेका छन् ।
हरेक वर्ष कार्तिक पुर्णिमाका दिन तामाङ्ग समुदायका श्रद्धालुले मृतआत्माको चिरशान्तिको कामना गर्दै गुम्बामा बत्ति बाल्ने र सोही अवसरमा गुम्बा परिसरमा ४ दिनसम्म रात्री मेला लगाइने गरिएको छ ।
मेला व्यवस्थापन समितिका अध्यक्ष योन्जनले आगामी कार्तिक १७ गतेबाट २० गतेसम्म गुम्बा मेला लगाइने जानकारी दिनुभयो । उहाँले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भव्य रुपमा मेला संचालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
मेला संचालन गर्ने बारेमा गुम्बा व्यवस्थापन समिति, मेला व्यवस्थापन समितिका पूर्व पदाधिकारी, स्थानीय समाजसेवी, बुद्धीजीवी, राजनीतिक दलका प्रतिनिधि, युवा, महिला समाज तथा धर्मालम्बीहरुलगायत स्थानीय सरोकारवालाहरुबीचको छलफलपछि समिति गठन गरेर मेलाको तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।
मेलामा होटल, पसलसहित राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतिसंगै विभिन्न किसिमका मनोरंजन र खेल सामग्रीको स्टल राखिने छ ।



