गोकुल घोरसाइने

निजगढ,

जेनजी आन्दोलनको क्रममा कार्यालयको सामग्री नष्ट भएपछि निजगढ नगरपालिका वडा नम्बर ७ को कार्यालयले स्थानीय शिक्षालयहरुले उपलब्ध गराएको उपकरण प्रयोग गरेर कार्यालय संचालन गर्दैआएको छ ।

जेनजी आन्दोलनकारीले कार्यालयमा आगजनी गरेर अतिआवश्यक सामग्री जलाएपछि निजगढ ९ स्थित गौरीशंकर कलेज, निजगढ ७ को नेत्रोदय माध्यमिक विद्यालय र शिवशक्ति आधारभूत विद्यालयले फिर्ता गर्ने गरी उपलब्ध गारएको सामग्रीको प्रयोग गरेर कार्यालयको सेवा संचालन गर्दैआएको हो ।

वडा कार्यालयका सचिव सोम सिंह लामाका अनुसार गौरीशंकर कलेजले कम्प्युटर प्रिन्टर १÷१ थान, नेत्रोदय माविले ल्यापटप १ थान र सत्यश्वर आधारभूत विद्यालयले १ थान प्रिन्टर सहयोग उपलब्ध गराएको छ । आन्दोलनकारीहरुले कार्यालयमा रहेको मोबाइलसहित विद्युतीय सामग्री, नगद रकम र फर्निचरलगायत सामग्रीमा आगजनी र तोडफोड गरेका थिए । कार्यालयमा रहेको १२ हजार नगद र केही उपकरण भने लुटिएको कर्मचारीहरुको आशंका छ ।

आन्दोलनपछि नष्ट भएका सामग्री खरिद गर्ने प्रक्रियामा रहेकोले पछि फिर्ता गर्ने गरी विद्यालय र क्याम्पसबाट सामग्री मागेर कार्यालयमा सेवा सुचारु गरिएको वडा सचिव लामाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका कार्यालयले वडा कार्यालयहरुमा आवश्यक सामग्री खरिदको बोलपत्र आह्वान गरिसेकेको र केही दिनभित्र सामग्री आइपुग्ने पनि बताउनुभयो ।

निजगढ नगरपालिका कार्यालयले नगरपालिका कार्यालयसहित वडा कार्यालयहरुको लागि ७ थान कम्प्युटर, ८ थान स्क्यानर, २ थान कलर प्रिन्टरसहित ११ थान प्रिन्टर र ठूलो फोटोकपी मेसिन १ थान खरिद गर्ने प्रक्रिया शुरु गरेको हो ।

गत भाद्र २४ गते भएको आन्दोलनको क्रममा निजगढ नगरपालिकाको मुख्य प्रशासन कार्यालयसहित १३ मध्ये ११ वटा वडा कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय