
निजगढ,
बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गको धनसर पुल नजिक बिग्रिएर सडक किनारामा रोकिएको ट्रकमा पिकअप भ्यान ठोक्किदा आइतवार राति पिकअपमा सवार ३ जना घाइते भएका छन ।
घाइते हुनेमा पिकअप चालक जिल्ला रौटहट गरुडा नगरपालिका ९ बस्ने अन्दाजी वर्ष २८ को पप्पु आलम, पिकअपमा सवार सोही ठाउँ बस्ने अन्दाजी वर्ष २६ को अबताब शेख र पिकअपमा सवार अन्दाजी वर्ष २७÷२८ को साहद्दिन आलम रहेका छन ।
पिकअप चालक पप्पु र अबताबको टाउको, हात, खुट्टा, मुख र शरीरको बिभिन्न भागमा चोट लागेको र गम्भीर अवस्थामा निजगढ सामुदायिक अस्पताल, प्रस्तुति गृहमा उपचार भइरहेको छ । अर्का घाइते साहद्दिनको भने अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।
वीरगञ्जबाट जनकपुरतर्फ जादै गरेको ना १ क ५५६८ नम्बरको ग्यास लोड भएको ट्रक बिग्रिएर धनसार पुलबाट करिव ५ सय मिटर पश्चिम सडक छेउमा रोकिराखेको अवस्थामा हेटौडाबाट रौटहटतर्फ जादै गरेको ना ५ ख ३५६५ नम्वरको कुखुरा बोकेको पिकअप गाडी राति ८ः४० बजे ठोक्किएको थियो ।