
नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले सहकारी संस्थाहरुले शेयर सदस्यहरुको उन्नति र प्रगतिको लागि सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।
निजगढ ९ स्थित हिमचुली सानाकिसान कृषि सहकारी संस्थाको १५औं साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै एमाले नेता पौडेलले शनिवार सो कुरा बताउनुभएको हो । सहकारी संस्थाहरुमा हेलाहोचा, थिचोमिचो, अन्याय, असमानता हुन नहुनेभन्दै उहाँले शेयरधनी सदस्यहरुको एकता र उन्नतिको लागि काम गर्नुपर्ने बताउनुभयो ।
‘सदस्यहरुको आर्थिक प्रगति र उन्नतिको लागि शेयरधनीहरुले सहकार्य गर्नुपर्छ, नेता पौडेलले भन्नुभयो, तर नेपालका केही संस्थाहरु सहकारीताको भावना विपरित चलेकाले समस्या आएको छ ।’ सहकारी संस्थालाई केही व्यक्तिहरुले ठगी खाने भाँडो बनाएकोप्रति दुःख व्यक्त गर्दै उहाँले सहकारीमा सहभागी बनेपछि सदस्यहरुको कुनै न कुनै क्षेत्रमा प्रगति हुनुपर्ने बताउनुभयो । ‘आर्थिक उपार्जन, शिक्षा, सीप र ज्ञान आर्जन जस्तो क्षेत्रमा सदस्यहरुले लाभ प्राप्त गर्न सक्नुपर्छ, पौडेलले भन्नुभयो, यदि कुनै पनि लाभ प्राप्त हुदैन भने सहकारीको सदस्य बन्नु र त्यसमा लगानी गर्नुको कुनै अर्थ छैन ।’
सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा गौरीशंकर क्याम्पस निजगढ संचालक समितिका अध्यक्ष निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी लामिछाने खनाल, एकबहादुर श्रेष्ठ, सगरमाथा सहकारी संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटालगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष सम्झना लामिछाने थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन अर्जुनप्रसाद अधिकारीले गर्नुभएको थियो ।
सभामा अध्यक्ष दुर्गाकुमारी घिमिरेले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक रामचन्द्र मण्डलले पेस गरेको लेखापरीक्षण प्रतिवेदन र व्यवस्थापक सुर्यप्रसाद तिमल्सिनाले प्रस्तुत गरेको संस्थाको आर्थिक प्रतिवेदन सर्वसम्मतिमा पारित भएको छ ।
कार्यक्रममा यस वर्ष निजगढ नगरपालिकास्थित सामुदायिक विद्यालयहरुबाट एसईईमा उत्कृष्ट अंकसहित उर्णिण हुने शेयर सदस्य परिवारको सदस्यहरुमध्ये छात्र हिमान्सु घिमिरे र छात्रा अपेक्षा पौडेललाई सम्मानित गरिएको छ ।
त्यसैगरी जेष्ठ सदस्य सम्मान समूह नम्बर १४९ की शुभद्रा उप्रेतीले प्राप्त गर्नुभएको छ भने कर्मचारी सम्मानतर्फ संस्थाका ऋण सहायक राजकुमार फुयाल र पूर्वकर्मचारी कमलप्रसाद अधिकारीलाई सम्मान गरिएको छ । त्यस्तै असल कारोबारतर्फ रामकृष्ण पाण्डे, असल समूह बचततर्फ समूह नम्बर १४९ लाई सम्मानित गरिएको छ ।
यसैबीच साधारण सभाले दुर्गा कोइरालाको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सम्झना थापा लामिछाने र सदस्यहरुमा अर्जुनप्रसाद अधिकारी, अरुणाकुमारी उप्रेती, रमा अधिकारी, फूलमाया लो, देवकी रेग्मी, रिता चापागाई र जयराम अधिकारी चयन भएका छन ।
त्यसैगरी साधारण सभाले बालकृष्ण सापकोटाको संयोजकत्वमा कोशिला पाठक र कोपिला राई सदस्य रहेको ३ सदस्यीय संस्थाको लेखा समिति पनि चयन गरेको छ ।