गोकुल घोरसाइने, निजगढ,

जेनजी समुहको आन्दोलनपछि नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै सुरु भएको अभियानअन्तर्गत  बारामा ३२ जना महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन ।

महामन्त्री गगन थापा समूहले पुस्तान्तरणको माग गर्दै देशव्यापी रुपमा शुरु गरेको अभियान अन्तर्गत  बारामा शनीवार साँझसम्म ३२ जना महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियाले जानकारी दिनुभयो ।

हस्ताक्षर अभियान जारी रहेको र जिल्लाबाट ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गर्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।

हस्ताक्षर अभियानमा निगगढका महाधिवेशन प्रनिधिधि पेमासिद्धि लामासहित, महासमिति सदस्य रामानन्द यादव, श्यामबाबु गुप्ता, शरदचन्द भट्टराईलगायतका नेता कार्यकर्ताहरु सक्रिय बनेका छन ।
बारा कांग्रेसमा १०० जना महाधिवेशन प्रतिनिधिहरु रहेका छन । बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती बिजयशंकर यादवसहित जिल्लाका अन्य प्रभावशाली नेताहरुको साथ रहेको भनिएपनि अहिलेसम्म हस्ताक्षरको पक्षमा खुलेका छैनन ।

बारा क्षेत्र न ४ का महाधिवेशन प्रतिनिधि शरदचन्द्र भट्टराईले कांग्रेस पार्टीभित्र आमूल परिवर्तन नभएसम्म देश र जनताको भलो नहुने बताउदै विशेष महाधिबेशन गरी पार्टीलाई बचाउनु पर्ने भएकोले हस्ताक्षर अभियानमा सरिक भएको बताउनुभएको छ ।

जेनजी समुहको आन्दोलनपछि पुरानै ढर्राबाट पार्टी चल्न नसक्ने भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापा समूहले विशेष महाधिवेशन गरेर नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गर्न दवाव बढाउनुभएको हो ।

सो समूहका नेताहरुले पार्टी विधानमा रहेको व्यवस्था अनुसारे विशेष महाधिवेशनको माग गरेका हुन ।

‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने’ विधानमा व्यवस्था छ ।

‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा’ विशेष महाधिवेशन बोलाउन सकिने पहिलो विकल्पमा सभापति शेरबहादुर देउवा पक्ष तयार देखिएको छैन ।

वर्तमान केन्द्रीय समितिमा करिब ८२ प्रतिशत देउवा पक्षका नेताहरू भएको हुँदा केन्द्रीय समितिबाट पारित गराउन नसकिने संकेत देखिएसँगै नेताहरू अर्को विकल्पमा अघि बढेका छन् । त्यसका लागि १४ औं महाधिवेशनका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउनुपर्ने हुन्छ ।

गत महाधिवशेनमा सभापतिका उम्मदेवार डा. शेखर कोइरालाले ४० र महामन्त्री गगन थापाले ६५ प्रतिशतभन्दा बढी मत ल्याएको हुँदा हस्ताक्षर पुग्न समस्या देखिँदैन ।

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा सम्भव भएसम्म केन्द्रीय समितिबाट निर्णय गराएर विशेष महाधिवेशन गराउने पक्षमा छन् । तर केन्द्रीय समितिमा देउवा पक्षको बाहुल्यता रहेकाले उक्त प्रस्ताव पारित हुने सम्भावना क्षीण रहेकाले महामन्त्रीद्वय थापा र शर्मासहितका प्रनिधिहरु हस्ताक्षरको पक्षमा जुटिसकेका हुन । एकपक्षले हस्ताक्षर अभियान सुरु गरेसँगै संस्थापन पक्षका नेताहरू त्यसविरुद्ध एकत्रित हुन सुरु गरेका छन् ।

सभापति देउवाका कार्यसमितिका नियमित अवधि यही मंसिरमा सकिदैछ । विधान अनुसार वर्तमान कार्यसमितिको कार्यकाल एक वर्ष थप्न सकिने व्यवस्था छ ।

संस्थापन इतर पक्षले हाल सुरु गरेको अभियानमा सफल बनेको खण्डमा नेपाली कांग्रेसको इतिहासमा यो दोस्रो ऐतिहासिक विशेष महाधिवेशन सावित हुने छ । काग्रेसको इतिहासमा विस २०१४ सालमा विराटनगरमा विशेष महाधिवेशन गरी सभापतिमा बीपी कोइराला निर्वाचित हुनुभएको थियो । २०१२ सालमा भएको छैंठौ महाधिवेशनबाट सभापतिमा निर्वाचित सुर्वणशमसेर राणाले दुईवर्ष पछि विशेष महाधिवशेन गराउनुभएको हो ।

पहिलो विशेष महाधिवेशन भएको ६८ वर्षपछि कांग्रेसमा सोही एजेण्डालाई लिएर पार्टीभित्र बहस सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय