
निजगढ,
योगदान राष्ट्रको लागि नामक संस्थाले निजगढमा बुधवार आफ्ना स्वंमसेवी सदस्य कार्यकर्ता, सुरक्षाकर्मी र महिला स्वंमसेवीकाहरुको लागि प्राथमिक उपचार सम्बन्धि आधारभूत तालिम संचालन गरेको छ ।
निजगढ ९ स्थित गौरीशंकर क्याम्पसको सभा हलमा भएको सो तालिममा प्राथमिक उपचार सम्बन्धि अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले सहभागीहरुलाई सडक दुर्घटना, सर्पदंश, जलन, खानेकुरा घाँटीमा अड्किएको, पानीमा डुबेको र बेहोस हुने आवस्थाका बिरामीहरुको लागि गरिने प्राथमिक उपचार हेरचाह सम्बन्धि सीप तथा ज्ञान प्रदान गर्नुभएको थियो ।
तालिम उद्धाटन कार्यक्रममा समितिको बारा जिल्ला संयोजक रामकृष्ण घिमिरे, निजगढ नगरपालिकाकी नगर पूर्वउपप्रमुख लिलादेवी खनाल लामिछाने, रक्तदाता संघ बारा जिल्ला अध्यक्ष रामकुमार उप्रेती, समितिको निजगढ सचिव भावना सुनारलगायतले बोल्नुभएको थियो ।
निजगढ समितिकी अध्यक्ष सरस्वती चौलागाईको अध्यक्षतमा भएको सो कार्यक्रमको संचालन गौरीशंकर क्याम्पसका प्रध्यापक सागर दहालले गर्नुभएको थियो । यसअघि बुधवार बिहान संस्थाले निजगढ ६ स्थित कृष्ण प्रणामी मन्दिरको सभा हलमा पनि प्राथमिक उपचार सम्बन्धि तालिम संचालन गरेको थियो ।
स्थानीय युवाहरुलाई लक्षित गरि आयोजना गरिएको सो तालिममा कृष्ण प्रणामी युवा परिषद निजगढले सहयाग गरेको थियो । संस्थाले विभिन्न घटनामा घाइते र बिरामीहरुको ज्यान जोगाउने उद्देश्यले देशव्यापी रुपमा प्राथमिक उपचार सम्बन्धि तालिम संचालन गर्दैआएको छ ।