निजगढ,
‘जेन जी’ को आन्दोलनपछि गत हप्ता भएको आगजनी र तोडफोडबाट निजगढ नगरपालिका कार्यालयमा मात्रै ३ करोड मूल्य बराबरको भौतिक क्षति पुगेको छ ।
भाद्र २४ गतेको हिंसात्मक प्रदर्शनमा निजगढ नगरपालिका कार्यालयमा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण जानकारी गराउने क्रममा मंगलवार निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले यससम्बन्धि जानकारी दिनुभएको हो । उहाँले हालसम्म संकलन भएको विवरणअनुसार २ करोड ९६ लाख ४९ हजार ८४६ रुपैया बराबरको उल्लेख गर्नुभयो ।
‘यो नगरपालिका कार्यालयको प्रशासनिक भवन र भवनभित्र रहेका उपकरणहरुको क्षतिको प्रारम्भीक अनुमान मात्रै हो, नगर प्रमुख पुरीले भन्नुभयो, वडा कार्यालयहरु र नगरपालिकाको प्रशासकीय भवनमा भएको नोक्सानीको थप विवरण आएपछि रकम अझै बढ्न सक्नेछ ।’ उहाँले वडा कार्यालय र प्रशासकीय भवनमा पुगेको क्षतिको विवरण संकलन कार्य जारी रहेको पनि जानकारी दिनुभयो ।
काठमाण्डौंमा जेनजी पुस्ताले भाद्र २३ गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दर्जनौं युवा÷विद्यार्थीको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीहरुले गत मंगलवार निजगढ नगरपालिका कार्यालयसहित वडा कार्यालय र मुख्य राजनीतिक दलहरुको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।
आन्दोलनकारीहरुले नगरपालिका कार्यालयभित्र प्रवेश गरी कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, एसी, सिसीटिभीलगायत उपकरण, फर्निचरलगायत महत्वपूर्ण कागजपत्रमा लागजनी गरेका थिए । आगजनीबाट कार्यालयको प्रशासन शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, स्वास्थ्य शाखा र लेखा शाखाको कागजपत्र जलेर नष्ट भएको थियो । स्वास्थ शाखाको स्टोरमा निशुल्क वितरणको लागि राखिएको ५५ लाख मूल्य बराबरको औषधि र उपकरणसमेत जलेर नष्ट भएको छ ।
त्यसैगरी निजगढ वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १२ नम्बर वडा कार्यालयमा पनि आगजनी भएको थियो । आन्दोलनकारीहरुले वडा कार्यालयभित्र रहेको कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, फर्निचार र कागजपत्र बाहिर निकालेर आगो लगाएका हुन । नगरपालिका कार्यालयमा तोडफोड र आगजनीपछि उनीहरुले वडा कार्यालयमा आगजनी गरेका हुन । ४ नम्बर वडा कार्यालयमा भने भित्रै आगो लगाइएको छ । वडा कार्यालयसंगै रहेको बाघ भैरव सामुदायिक वन समूहको कार्यालयमा पनि आगो लगाएका छन । आगजनीबाट कार्यालयमा रहेका सबै कागजपत्र र सामग्री जलेर नष्ट भएका छन ।
यसअघि प्रदर्शनकारीहरुले नेपाली काग्रेश, नेकपा एमाले, नेकपा माओवादी पार्टी कार्यालयमा तोडफोड गर्नुको साथै कार्यालयभित्र रहेका फर्निचर, कागजपत्र र अन्य सामग्री बाहिर निकालेर आगजनी गरेका थिए ।



