निजगढ,
निजगढ सबडिभिजन वन कार्यालयलको प्रमुख वन अधिकृत शर्मिला नेपालको बुधवार एक कार्यक्रमबीच स्वागत गरिएको छ ।
सबडिभिजन वन कार्यालयमा २ दिनअघि हाजिर भएर जिम्मेवारी सम्हाल्नुभएकी अधिकृत नेपाललाई सबडिभिजन वन कार्यालयमा बुधवार बिहान भएको कार्यक्रममा निजगढ क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र कार्यालयका कर्मचारीहरुले फूल, माला र खादा दिएर स्वागत गरेका हुन ।
सामुदायिक वन उपभोक्ता महासंघ निजगढको संयोजनमा भएको सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाई, निजगढ नगर महासंघका अध्यक्ष अध्यक्ष कुशबहादुर थापा, जनज्योति वन समूह निजगढ ७ का अध्यक्ष खडगबहादुर मोक्तान, आदर्शसदावहार वन समूह निजगढ ९ का अध्यक्ष रामप्रसाद पाण्डे, जनहित वन समूह निजगढ ६, ७ की अध्यक्ष चन्द्रिका पुलामी, जनशक्ति वन समूह निजगढ १ का अध्यक्ष शेखर लोप्चन, सरस्वति वन समूह निजगढ २, ३ का अध्यक्ष रामबहादुर थापा, सुखसितल वन समूह निजगढ २ का अध्यक्ष गोकुल खुलाल, श्रीबकैया वन समूह निजगढ ९ की सचिव शारदा फकामी, जनसृजनशील सामुदायिक वन समूह निजगढ ६ का उपाध्यक्ष माधवप्रसाद रिमाल, कुशल परामर्शका निर्देशक सरोज कोइरालालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अधिकृत नेपालले समूहका सदस्य र वन सुरक्षाकर्मीहरु आपसममा मिलेर काम गर्नसके मात्रै वन संरक्षण कार्य प्रभावकारी हुने बताउनुभएको थियो । उहाँले वन संरक्षणको लागि सबै पक्षसंग समन्वय गरेर आफूले इमान्दारिताका साथ काम गर्ने बताउनुभयो ।
महासंघ बाराका अध्यक्ष रामजी बजगाईले निजगढका सामुदायिक वन समूहहरुले वन संरक्षणमा बारा जिल्लामै नमूना कार्य गर्दैआएको भन्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले संरक्षण कार्यसंगै वन समूहहरुले अब उपभोक्ताहरुको आय आर्जन वृद्धिको लागि वन सम्पदाको प्रयोग गर्ने खालका योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी नगर महासंघ निजगढका अध्यक्ष कुशबहादुर थापाले पनि वन कर्मचारी र सामुदायिक वन समूहहरुको संयुक्त प्रयासमा निजगढमा वन संरक्षण कार्य संचालन भइरहेको बताउदै आगामी दिनमा पनि सहयोग र समन्वयको आवश्यक रहेको बताउनुभएको थियो । उहाँले विभिन्न समूहबाट भएका संरक्षण कार्यको बारेमा जानकारी लिन र यसलाई थप प्रभावकारी पार्न वन अधिकृत नेपालले एक पटक निजगढ सबडिभिजन क्षेत्रका सबै वन समूहहरुको निरीक्षण गर्न पनि सुझाव दिनुभएको थियो ।
राष्ट्रिय निकुञ्ज विभागको रेञ्जर पदमा लामो समयसम्म काम गर्नुभएकी नेपाल लोकसेवा आयोगको परीक्षामा सफल भएपछि मधेस प्रदेश सरकारले वन अधिकृत पदमा उहाँलाई डिभिजन वन कार्यालय बारामा खटाएको थियो ।



