गोकुल घोरसाइने

निजगढ,
बारा र रौतहट जिल्लाको ऐतिहासिक किसान आन्दोलनका एकमात्र जिवित अगुवा नन्दन अर्यालको ९५ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित अर्यालको उपचारको क्रममा काठमाडौँमा आइतवार राति निधन भएको हो ।

बाराको कलैया उपमहानगर पालिका वडा नम्बर– १४ बघवन घर भएका नेता अर्याल बारा र रौतहट जिल्लामा कम्युनिस्ट पार्टीको अगुवाइमा २००९ सालदेखि २०११ सालसम्म भएको किसान आन्दोलनको अगुवामध्येका एक हुनुहुन्थ्यो ।

किसान आन्दोलनको क्रममा मधेसका किसान र भूमिहिन श्रमिकलाई सङ्गठित गर्दै कम्युनिस्ट आन्दोलनलाई मधेसका जिल्लामा स्थापित गर्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
नेकपा एमालेका नेता एंव बारा र रौतहटको किसान आन्दोलनको खोजकर्ता पुरुषोत्तम पौडेलका अनुसार अर्याल २०१३ सालसम्म बारा तथा रौतहट जिल्लाहरूमा संचालित किसान आन्दोलनका एकमात्र जीवित शीर्षस्थ अगुवा हुनुहुन्थ्यो ।

अर्याल २००८ सालमा गठित अखिल नेपाल किसान संघ बारा जिल्ला कमिटीको सदस्यसमेत रहेको र संघको अगुवाइमा यी जिल्लाहरुमा जमिन्दारहरु विरुद्ध तमसुक फट्टा, मोछ उखाडो, रे नही जी कहो, भकारी फोडो, जसको जोत उसको पोत, मोहियानी हक जस्ता अभियान संचालन भएका थिए । उहाँलाई २००९ सालमा बामपन्थी लेखक श्यामप्रसाद शर्माले नेकपाको सदस्यता प्रदान गर्नुभएको थियो ।

नेकपाका नेता तुलसीलाल अमात्यको प्रेरणा र तत्कालिन कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बाराका मधु सिंहको नेतृत्वमा जमिन्दारहरुको थिचोमिचो विरुद्ध किसानहरुले त्यतिबेला बारामा ठूला ठूला प्रदर्शनहरु गरेका थिए ।

अर्यालसहित बारा÷रौतहटका नेता, हरिहर यादव, हरिदयाल महतो, खजान्ची साह, देवनारायण साहलगायतले आन्दोलनको नेतृत्व गरेका थिए । सोही क्रममा २०११ सालमा प्रहरीको गोलीबाट गडहल गाउँमा मुखलाल महतोको निधन भएको थियो । महतोलाई अहिले पनि किसान आन्दोलनको शहीदको रुपमा सम्मान गरिदैआएको छ ।

शहिद मुखलाल स्मृति प्रतिष्ठानले हालको करैयामाई गाउँपालिकको नरही चोकमा अद्र्धकदको शालिकसमेत निर्माण गरेको छ । शहिद दिवसको अवसरमा नेकपा एमालेका नेता कार्यकर्ताहरुले हरेक वर्ष नरही चोकमा भेला भएर श्रद्धाञ्जली सभा आयोजना गर्ने गरेका छन ।

पञ्चायत शासनकालमा पटक–पटक गरी पाँच पटकसम्म जेल जीवन र भारत प्रवासमा समेत बस्नुभएका नेता अर्यालले भूमिगत रुपमा जिल्लाका कम्युनिष्ट पार्टीको संगठन विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको एमाले नेता पौडेलको भनाई छ । किसान आन्दोलनकै क्रममा बारा जिल्लाबाट पक्राउ परेपछि उहाँलाई अन्य सात जना साथीसहित काठमाण्डौको नख्खु जेलमा राखिएको थियो ।

बाराको बघवन गाउँमा जन्मिनुभएका अर्याल सानैदेखि विद्रोही स्वभावको हुुनुहुन्थ्यो । जमिन्दार परिवारमा जन्मिएको र वनारस पढ्दा विद्यार्थी कालमा कांग्रेसका नेता उहाँका आफन्त भान्जा दाइ कृष्णप्रसाद भट्टराई, बटुकप्रसाद भट्टराईसंगको संगतले उहाँमा राजनीतिक चेतनाको विकास भए पनि उहाँ कांग्रेसी राजनीतिमा भने लाग्नु भएन । सर्वहारा वर्गीय चिन्तनमा दृढ अर्याल सिद्धान्त निष्ठ, त्याग र सङ्घर्षको पर्याय हुनुहुन्थ्यो । भूमिगत कालमा राज्यद्वारा कडा निगरानीमा राखिए पनि उहाँले आफ्नो जीवन निस्वार्थ भावनाले जनताको सेवामा समर्पित गर्नुभएको थियो ।

नेता अर्याल तत्कालिन नेकपा संयुक्तबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट उम्मेवार पनि बन्नुभएको थियो । पञ्चायत काल र बहुदल आएपछि पनि नेकपा मानान्धर समुहमा रहनुभएका अर्यालले पछिल्लो समयमा कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको पक्षपोषण गर्दै स्वतन्त्र बामपन्थीको रुपमा क्रियाशील रहदैआउनुभएको थियो ।
अर्यालको परिवारमा एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय