निजगढ,

प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले मध्यवर्ती क्षेत्रका बासिन्दाहरुलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन वैकल्पिक उपायको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

पर्सा वन्यजन्तु निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने बाराको अमलेखगञ्जमा बाघको आक्रमणबाट सर्वसाधारणको ज्यान जाने क्रम बढेपछि शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद मैनालीले त्यस्ता घटना नियन्त्रणको लागि उपाय खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

‘मध्यवर्ती क्षेत्रका बासिन्दाहरु घाँस, दाउरा, जंगली तरकारी र चरिचरण गर्न जाने क्रममा बाघको आक्रमणमा परेर ज्यानसमेत जाने गरेकोछ, उहाँले भन्नुभयो, यस्ता दुःखद घटना रोक्न स्थानीयलाई जंगल नै जानु नपर्ने व्यवस्था मिलाउन जरुरी छ ।’

सांसद मैनालीले मानव र वन्यजन्तुबीच द्वन्द न्युनीकरणको लागि तत्काल स्थानीय जनताहरुलाई वन्यजन्तुको बासस्थान, विचरणस्थल तथा उनीहरुको व्यवहारबारे जानकारी दिने गरी संरक्षित क्षेत्र र मानव वस्तीको प्रमुख स्थानहरुमा जानकारीमुलक सूचनाहरु राख्न र वन्यजन्तुको बासस्थान व्यवस्थान र सुधारका कार्यक्रम संचालन गर्न पनि सुझाव दिनुभयो ।

‘संरक्षित क्षेत्रले वन्यजन्तु बहन गर्नसक्ने क्षमताको अध्ययन गरी बासस्थानको व्यवस्थापन र सुधारमा ध्यान दिएर विशेष योजना बनाउन आवश्यक देखिन्छ ।’ उहाँले भन्नुभयो ।

मैनालीले ४६ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालमा एक दशकको अवधिमा वन्यजन्तुको आक्रमणबाट २७७ जनाले ज्यान गुमाउनु परेको, ४८७ जना सामन्य घाइते र ५६६ जना गम्भीर घाइते भएको तथ्याङ्क पनि संसदमा प्रस्तुत गर्नुभएको थियो ।

सन् २०२२ को गणनामा नेपालमा बाघको संख्या ३५५ पुगेको र संख्या बढेसंगै यसको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषयहरु चुनौतीपूर्ण बनेको उहाँको भनाई थियो ।
सांसद मैनालीले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिकामा समयानुकूल परिवर्तन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । ‘राहत वितरण निर्देशिका २०८० लाई सरल र सहज बनाउनुपर्छ, उहाँले भन्नुभयो, सामान्य र गम्भीर प्रकृतिको घाइते छुट्याउँदा अपांगताको प्रमाणपत्रको आधारमा नभई घाइतेको अवस्थालाई हेरेर गरिनुपर्ने प्रावधान राख्न वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गर्दछु ।’

पछिल्लो पटक गत भाद्र ११ गते जीतपुरसिमरा उपमहानगरपालिका २२ अमलेखगञ्ज बस्ने ५५ वर्षीय कृष्णकुमार शर्माको बाघको आक्रमणबाट मृत्यु भएपछि सांसद मैनालीले स्थानीयको जिउधनको सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बारा जिल्लाको निजगढ र कोल्हाबी नगरपालिका तथा जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट वर्षेनि मानवीय क्षतिका साथै अन्नबाली तथा पशुचौपायाको समेत क्षति हुने गरेको छ ।

त्यस्तै सांसद मैनालीले आन्दोलनरत उखु किसानहरुसंग वार्ता गरी उनीहरुको मागलाई सम्बोधन गर्न र उखु किसानलाई उपलब्ध गराउने अनुदान रकम यसै आर्थिक वर्षमा विनियोजित रकम मध्येबाट उपलब्ध गराउन पनि सरकारसंग माग गर्नुभएको छ ।

उखु खेती गर्ने किसानले सरकारले उपलब्ध गराउदै आएको प्रतिक्विन्टल ७० रुपैया अनुदान रकम वर्षौदेखि पाउन नसकेको बताउदै उहाँले मधेश प्रदेशमा नगदे बालीको रुपमा परिचित र लाखौ किसान परिवार आश्रित उखु खेती हाल धारासायी अवस्थामा पुगेकोभन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले कृषक र उखुमा आधारित उद्योगको संरक्षण गर्न पनि उखु खेतीको प्रबद्र्धन गर्न जरुरी भएको सांसद मैनालीको भनाई थियो ।

सरकारले हालसालै अनुदानको केही रकम निकासा गरेकोमा धन्यवाद पनि दिनुभएको छ । ‘सरकारले ७५ करोड ४९ लाख रकम उपलब्ध गराएको छ, उहाँले भन्नुभयो, यसको लागि धन्यवाद छ, तर सो रकम पर्याप्त छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय