रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा कृष्णाजन्माष्टमी मेलाको उद्धाटन गर्ने क्रममा भएको ढुंगामुडा प्रहारबाटबाट नगरप्रमुख प्रेमलाल साह गम्भीर घाइते हुनुभएको छ ।

देवाही गोनाही नगरपालिका– ९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा शनीवार कृष्णजन्माष्टमी मेलाको उद्घाटन गर्ने विषयलाई लिएर उत्पन्न विवादमा दुई पक्षबिच झडप हुँदा नगरप्रमुख साह कानुसहित पाँच जना घाइते भएका हुन ।

नगरपालिकाको वडा नम्बर ९, धरहरहरीस्थित कृष्ण मन्दिर परिसरमा आयोजना गरिएको मेलाको शनीवार उद्घाटन गर्न पुग्नुभएका मेयर साहलाई समितिले स्वागत गर्दै मञ्चतर्फ लैजाँदै गर्दा अचानक भिडमा होहल्ला सुरु भएको थियो । र त्यहीबीच मेला उद्घाटन नगर्ने भन्दै मञ्चबाट तल ओर्लन लागेका मेयर साहमाथि स्थानीय रामप्रवेश साह नेतृत्वको समूहले ढुंगा र इटा प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
घटनामा घाइते मेयर कानुको टाउकोमा १७ वटा टाँका लगाइएको छ भने अन्य प्रहरी र स्थानीयलाई सामान्यदेखि मध्यम चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते मेयर कानुलाई थप उपचारको लागि वीरगञ्जतर्फ पठाइएको जनाइएको छ ।

आक्रमणमा दुई जना वरिष्ठ प्रहरी हवल्दार जगदीश यादव र धनसुन्दर ठाकुरसहित थप दुई सर्वसाधारण घाइते भएका छन् । झडप नियन्त्रण गर्ने क्रममा प्रहरीसमेत घाइते भएका हुन । प्रहरीले दिएको जानकारी अनुसार घाइते प्रहरी जवान जगदीश राय यादवको टाउको, मुख र हातमा चोट लागेको र गालामा ५ टाँका लगाइएको छ । प्रहरी जवान ठाकुरको पनि टाउकोमा ४ टाँका, कुहिनो र कन्चटमा चोट लागेको बताइएको छ ।

त्यसैगरी अर्का घाइते स्थानीय रामविकाश साहको दाहिने हातमा चोट लागेको छ भने श्याम विनय साहको पनि अवस्था सामान्य रहेको जनाइएको छ । घाइतेहरूको उपचार गरुडास्थित निजी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, घटनामा संलग्न भएको आरोपमा स्थानीय राधामोहन साह, विनोद साह र ऋतिक साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडा पठाइएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय गरुडाले संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । मेला स्थल वरिपरि अहिले पनि सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय