निजगढ,
निजगढकी अनु माझी साफ यु– १७ महिला फुटबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा समावेश भएकी छिन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतवार घोषणा गरेको २३ सदस्यीय टोलीमा माझी पनि समावेश भएकी हुन् । निजगढ नगरपालिका वडा नम्बर ७ घर भएकी माझीले निजगढ फुटबल क्लबबाट फुटबल शुरु गरेकी हुन ।
निजगढ फुटबल क्लबले निरन्तर रुपमा सञ्चालन गरिरहेको नियमित प्रशिक्षणको परिणाम स्वरुप विभिन्न उमेर समूह हुँदै सिनियर राष्ट्रिय टोलीमा समेत खेलाडीहरूको सहभागिता गराउन सफल भएको क्लबका प्रशिक्षक सन्तोष गुरुङले बताउनुभयो ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा भुटानमा यही अगस्ट २० देखि ३१ गतेसम्म हुने च्याम्पियनसिपमा नेपालसहित आयोजक भुटान, भारत र बङ्गलादेशको सहभागिता रहनेछ ।
उदीयमान खेलाडी माझीको यो चयन निजगढलगायत सिंगो बाराका लागि गर्वको विषय बनेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड समीर तामाङ, यु– २० महिला फुटबल टोलीकी गोलरक्षक करुण बुढाथोकीसहित यसअघि यु– १७ नेपाली महिला फुटबल टोलीबाट खेलिसकेकी दिलमाया घिसिङ र यु– १६ नेपाली फुटबल टोलीबाट खेलेका समीर माझी निजगढ फुटबल क्लबका उत्पादन हुन ्।
त्यसैगरी निजगढकै सुजन गौतम पनि यो वर्षबाट नेपाली राष्ट्रिय फुटबल टोलमा परेका छन ।



