बाराको कलैया उपमहानगरपालिका–२४ सखुईस्थित मानवत–कलैया–मटिअर्वा हुलाकी सडकखण्डमा तीनवटा सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने कार चालक फरार रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दीपक केसीका अनुसार शनिबार पिलुवाबाट कलैयातर्फ जाँदै गरेको बा. प्र. ०१–०२५ च ४९५३ नम्बरको कार सडकछेउमा रोकिएको अवस्थामा भएको थियो । त्यही दिशातर्फ आउँदै गरेको ना ५६ प ६६९८ नम्बरको मोटरसाइकलले कारमा ठक्कर दिएको थियो ।
ठक्करबाट अनियन्त्रित भएको मोटरसाइकलले कलैयाबाट पिलुवा तर्फ आउँदै गरेको बा. प्र. ०३–००१ ख ३२९० नम्बरको बसको पछाडिको दाहिने चक्कामा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका–१६ का ५५ वर्षीय उद्दव प्रसाद यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक केसीका अनुसार मृतक यादव मोटरसाइकल चालक थिए ।
दुर्घटनामा संलग्न बस चालक सिम्रौनगढ नगरपालिका–७ कवलपुरका २५ वर्षीय हरि शंकर राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक फरार रहेका कारण उनको खोजी कार्य जारी रहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटना मोटरसाइकलले कारमा ठक्कर दिएर अनियन्त्रित भएसँगै अन्य सवारी साधन पनि प्रभावित भएका थिए । दुर्घटनाको कारणले केही समय हुलाकी सडकखण्डमा यातायात अवरुद्ध भए पनि बाइपासमार्ग प्रयोग गरी सवारीसाधन संचालन गरिएको थियो ।
प्रहरीले कार चालकलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न लागि परेको छ भने घटनाको थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।



