गोकुल घोरसाइने

निजगढ,
युटुबमा अर्काको भिडियो हेरेर ड्रेगन फ्रुट खेतीमा आकर्षित बन्नुभएका निजगढ ७ का निरज श्रेष्ठ  हिजोआज त्यसैको खेतीमा रमाउन थाल्नुभएको छ ।

५ वर्षअघि युटुब हेर्नेक्रममा काभ्रेको नमोबुद्ध नगरपालिकाका एकजना किसानको उत्पादन देखेपछि आकर्षित हुनुभएका ४५ बर्षिय श्रेष्ठ शुरुका दिनमा नयाँ बाली सप्रिन्छ कि बिग्रिन्छ भन्ने डरमा केही अलमलिए पनि पछिल्ला वर्षहरुमा भने यसैमा रमाउन थाल्नुभएको हो ।

‘शुरुको वर्ष खेती बिग्रने पो हो कि भन्ने डरै डरमा बित्यो, उहाँले भन्नुभयो, अन्य बालीभन्दा राम्रो आम्दानी हुँदो रहेछ, अहिले भने यसैमा रमाएको छु ।’

युट्बको भिडियो हेरेर जाँगर जागेपछि  निरजले करेसाबारीसंगै जोडिएको १७ कठ्ठा जमिनमा ड्रेगन फ्रुट खेती गर्दैआउनुभएको छ । निजगढमा ड्रेगन फ्रुटको खेती गर्ने पहिलो किसान भएको दाबी गर्ने निरजले ०७६ सालमा ७ कठ्ठाबाट खेती थाल्नुभएको हो । ३ वर्षअघिबाट भने उहाँले खेती विस्तार गर्नुभएको थियो । निजगढ नगरपालिकामा हाल व्यवसायिक रुपमा ड्रेगन फ्रुटको खेती गर्ने किसानको संख्या १ दर्जनभन्दा बढी छ ।

आम्दानी राम्रै हुने देखिएपछि अन्नबाली छोडेर आफ्नो सबै जमिनमा ड्रेगन फ्रुट लगाएको उहाँले बताउनुभयो । ‘वार्षिक ३० क्विन्टलसम्म उत्पादन हुन्छ, निरजले भन्नुभयो, यसैको आम्दानीबाट घर खर्च, छोराछोरीको पढाइ सबै चलेको छ ।’ वार्षिक ९ लाख रुपैयासम्म आम्दानी गर्ने निरजले आम्दानीबाट केही रकम बचत गरेको पनि सुनाउनुभयो ।

आम्दानीभन्दा पनि ड्रेगन फ्रुट खेतीबाट प्राप्त हुने खुसी र सन्तुष्टि ठूलो कुरा भएको बताउनुभयो । ‘मिठो फल दिने, आर्गनिक र स्वास्थ्यवद्र्धक खेती गर्न थालेपछि सुख र पनि सन्तुष्टि मिलेको छ, उहाँले भन्नुुभयो, छिमेकी र बाहिरी गाउँबाट हेर्न किसानहरुले पनि राम्रो बालीको खेती गरेकोभन्दै प्रशंसा गरेर फर्किने गरेका छन ।’ आफूले गरेको कर्मको अरुको मुखबाट प्रंशसा सुन्न पाउँदा थप खुसी र सन्तुष्टि मिल्ने उहाँको अनुभव छ । तर १÷२ वर्षयता फलमा देखापर्न थालेको ढुसी र किराफट्याङ्ग्राको प्रकोपले उत्पादनमा हस आउन थालेको उहाँको दुःखेसो छ ।

उहाँले उत्पादन गरेको ड्रेगन फ्रुट हेटौडा, बुटवल, दाङ्ग र पोखरा जस्ता शहरसम्म पुग्ने गरेको छ । व्यापारीहरुले घरमै आएर खरिद गर्ने गरेका हुन । ‘खेर जाला कि भन्ने पिर छदैछैन, फल तयार भएपछि व्यापारीहरु बारीमै आएर लैजान्छन ।’ उहाँले भन्नुभयो ।

पछिलल्लो समय गाउँ घरमा पनि माग बढ्न थालेपछि बजारको सहजता बढेको उहाँको भनाई छ । ‘पहिले पहिले गाउँघरका मानिसले त्यति वास्ता गर्दैनथ्ये सबै बाहिर पठाउनुपथ्र्यो, उहाँले भन्नुभयो, अब त गाउँघरमै पनि ठूलै परिमाणमा बिक्री हुन थालेको छ ।’ फलको स्वाद र स्वास्थ्यमा पुग्ने फाइदा बारे जानकारी पाएपछि सर्वसाधारणमा पनि ड्रेगन फ्रुट खाने बानी पर्न थालेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय