लायन्स अन्तर्राष्ट्रिय डिस्टिक ३२५ एच, एमडी ३२५ नेपाल अन्तर्गत जोन–३ को पहिलो सल्लाहकार समिति बैठक तथा जोन बैठक बुधबार बारा जिल्लाको निजगढ नगरपालिका–९ स्थित होटल राजमार्गमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता जोन चेयरपर्सन लायन सुदर्शन दंगालले गरेका थिए भने रिजन चेयरपर्सन लायन विष्णुप्रसाद रिजाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
बैठकमा जोन अन्तर्गत रहेका लायन्स क्लब अफ निजगढ युथ, लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पिस र लायन्स क्लब अफ बारा मवादेवीका प्रतिनिधिहरूको उल्लेखनीय र सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको विशेष अवसरमा लायन्स क्लब अफ निजगढ युथमा दुईजना नयाँ सदस्यहरूको स्वागत गरियो। नयाँ सदस्यहरूको आगमनले क्लबको सेवा अभियानमा थप ऊर्जा र प्रभावकारिता आउने विश्वास व्यक्त गरिएको थियो।
बैठकले आगामी क्याबिनेट बैठक निजगढ नगरपालिकामै आयोजना गर्ने निर्णय गरेको छ। क्लब सदस्यहरूको सदस्यता नविकरणलाई प्रभावकारी बनाउन क्लब अध्यक्षहरूलाई जिम्मेवारी दिने र समन्वयात्मक भूमिका निर्वाह गराउने निर्णय गरिएको छ।
त्यसैगरी, प्रत्येक क्लबले आफ्नो वार्षिक कार्ययोजना तयार गर्ने र कम्तीमा एउटा सामूहिक कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गर्ने सहमति बैठकमा भएको छ।
बैठक सकारात्मक र उद्देश्यपरक छलफलहरूबाट सम्पन्न भएको सहभागीहरूको भनाइ छ।
बैठकपछि डिस्टिक मिडिया समितिका सदस्य इन्दीप कोइरालाले निर्णयहरूको जानकारी गराउँदै, उपस्थित सबै सदस्यहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। आगामी दिनहरूमा सामाजिक सेवाका कार्यक्रमहरूमा अझ सशक्त एवं प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता कार्यक्रमद्वारा व्यक्त गरिएको छ।



