निजगढ,
यात्रु बसमा जडान भएको सिसिटीभि क्यामराको फुटेजबाट निजगढ प्रहरीले निजगढ प्रहरीले एकजना युवकको ज्यान जाने गरी ठक्कर दिने ट्रकको पहिचान गरेको जनाएको छ ।
बाराको कोल्हबी नगरपालिका ५ का वर्ष २० का समिर चौधरीको एक साताअघि गाडीको ठक्करबाट मृत्यु भएको घटना बारेमा सोमवार जानकारी दिदै प्रहरी निरीक्षक जीवन लामिछानेले निरन्तरको अनुसन्धानपछि चौधरी चढेर आएको बसलाई नियन्त्रणमा लिएर त्यसमा जडान भएको सिसिटिभी क्यामराको फेटेज अध्ययन गर्दा ठक्कर दिने ट्रकको पहिचान भएको र चालकलाई नियन्त्रणमा लिएर कारबाही शुरु गरिएको बताउनुभयो ।
‘सिसिटिभी फुटेजमा चौधरी बसबाट सकुशल ओर्लिएको देखियो, उहाँले भन्नुभयो, तर सोही बसको अगाडिको भागमा जडान भएको अर्को क्यामरामा कैद फुटेजमा लगत्तै क्रस भएको को. १ ख ७८०८ नम्बरको ट्रकमाथि शंका लागेर अनुसन्धान गर्दा ठक्कर दिने ट्रक पहिचान र मृत्युको करण पनि पत्ता लागेकोे हो ।’
बसको पछाडितर्फबाट सडक पार गर्ने क्रममा पूर्वबाट लगत्तै आएको सो ट्रकको बड्डीको पाता टाउकोमा ठोक्किएपछि गम्भीर घाइते चौधरीको र उपचारको क्रममा भोलिपल्ट वीरगञ्जस्थित एसएल न्यूरो अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ससिटीभी फुटेजको आधारमा खोजी गर्ने क्रममा ट्रक र चालक सन्दीपकुमार भण्डारीलाई प्रहरीले आइतवार वीरगञ्जबाट नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । चालक भण्डारीले पनि प्रहरी समक्ष घटना स्वीकार गरिसकेको जनाइएको छ ।
चितवनको एउटा स्टिल फ्याक्ट्रीका कामदार चौधरी कोल्हबीस्थित घर आउने क्रममा काकटभिट्टाको रात्रि बस चढेर तामागढी आएका थिए । प्रहरीले साउन १३ गते राति ११ बजे पूर्वपश्चिम राजमार्गको निजगढ ८ स्थित तामागढी गेटमा घाइते अवस्थामा फेला पारेर उपचारको लागि अस्पताल पु¥याएको थियो ।



