निजगढ,

उपकरण बिग्रिएर जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडाहरुमा भूमि आयोगले सुरु गरेको भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँचको काम रोकिएको छ ।

पालिकाले आयोगलाई उपलब्ध गराएको मेसिन कमसल भएका कारण काम थालेको छोटो समयमा नै उपकरण  बिग्रिएर समस्या भएको हो ।

भूमि समस्या समाधान आयोग बाराले जिल्लाको निजगढ र जीतपुरसिमराका आधा दर्जन वडाहरुमा यही बैशाख पहिलो साताबाट जग्गाको नापजाँच सुरु गरेको थियो । यद्यपि जीतपुरसिमरा उपमहानगरले खरिद गरी प्राविधिक टोलीलाई उपलब्ध गराएको नापी उपकरण बिग्रिएपछि दुई महिनादेखि काम रोकिएको आयोग बाराका जिल्ला अध्यक्ष भरतबहादुर घलेले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ लामिडाँडा र वडा नम्बर २२ को अमलेखगंजमा काम हुँदै गर्दा पालिकाले उपलब्ध गराएको उपकरणमा समस्या आएको र त्यसपछि काम रोकिएको अध्यक्ष घलेले बताउनुभयो । अमलेखगंंजमा भने निजगढ नगरपालिकाको मेसिन मगाएर काम अघि बढाइएको अध्यक्ष घलेले जानकारी दिनुभयो ।

आयोगले बिग्रिएको मेसिन जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा बुझाएको जनाएको छ ।

मेसिन बिग्रिएपछि आयोगले जीतपुरसिमराको वडा नम्बर १८ सहित निजगढमा हालसम्म पुरा भएको कामको अध्यावधिक गर्ने र नक्सांकनको काम मात्रै गरिरहेको अध्यक्ष घलेले जानकारी दिनुभएको छ ।
यता, जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख राजन पौडेलको मेसिन बिग्रिएर आयोगको काम रोकिएको विषयमा खासै चासो नदिएको पाइएको छ । यस विषयमा बुझ्न खोज्दा आफूले पनि मेसिन बिग्रेको भनेर सुनेको उहाँले बताउनुभयो । तर कामलाई गति दिने बारेमा भने उहाँले केही पनि जनाउनुभएको छैन ।

आयोगले भूमिहिनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने कार्यको लागि जिल्लाको जीतपुरसिमरा र निजगढ नगरपालिकामा ६ वटा सर्वेयर टोली फिल्डमा खटाएको छ ।

जीतपुरसिमराको वडा नम्बर १८, १६ र २१ मा ४ वटा र निजगढको वडा नम्बर ४ र १० मा २ वटा गरी ६ वटा टोलीले जग्गा नक्साङ्कनको काम गर्दैआएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय