
निजगढ नगरपालिकाले २२औं राष्ट्रिय धान दिवस–२०८२ आज विविध कार्यक्रमका साथ मनाएको छ। ‘धान बालीमा सघनता, खाद्य सुरक्षा तथा आत्मनिर्भरता’ भन्ने नारासहित नगरपालिकाले वडा नं. १० स्थित शान्तिटोलमा रोपाईं कार्यक्रम गरी धान दिवसको औपचारिक सुरुआत गरेको हो।
कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख सोममाया थिङले गरेकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल, विभिन्न वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षाकर्मी, विद्यालयका शिक्षक–विद्यार्थी, कृषक समूह, सहकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नगरपालिकाका कर्मचारीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
वक्ताहरूले धान दिवसलाई कृषिप्रति सम्मान प्रकट गर्ने अवसरको रूपमा उल्लेख गर्दै आत्मनिर्भर खाद्य प्रणाली निर्माणका लागि धान उत्पादनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनीहरूका अनुसार आयातमा निर्भरता कम गरी स्वदेशी उत्पादनमा आधारित अर्थतन्त्र निर्माण नगरी दीगो विकास सम्भव छैन।
कार्यक्रममा परम्परागत शैलीमा धान रोपाईं गरिएको थियो भने स्थानीय कृषकहरूको सहभागितामा सांस्कृतिक झाँकी, नाचगान र कृषिप्रतिको सम्मान झल्किने विविध प्रस्तुति पनि समावेश गरिएका थिए।
निजगढ नगरपालिकाले हरेक वर्ष धान दिवसलाई स्थानीयस्तरमा कृषिप्रति जनचेतना फैलाउने अवसरका रूपमा लिँदै आएको छ। यस वर्षको कार्यक्रमले पनि कृषिमा युवा पुस्ताको सहभागिता र प्रविधिको प्रयोग आवश्यक रहेको सन्देश दिन खोजिएको आयोजकको भनाइ छ।