
नेपाली सेनाले तराई, पहाड, हिमालको कला, संस्कृति र योगदान झल्काइने उदेश्यले पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा ‘एकीकरण स्मृति उद्यान’ बनाउन सुरु गरेको छ ।
प्रदेश २ अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा उक्त उद्यान बनाउन सुरु गरेको हो । आयोजनाको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत शनिबार शिलान्यास गरे ।
सेनाको २८ नम्बर वाहिनीपति सहायक रथी अनुपजंग थापाले आम नागरिकका लागि प्रदेश २ कै यो पहिलो र नमुना उद्यान बनाउन थालिएको बताए ।
उनका अनुसार दुई वर्षीय योजनाअन्तर्गत २२ करोडमा बाहिनी हाताभित्र ३ बिघा क्षेत्रमा पार्क बनाउन थालिएको हो । चालु वर्षको पहिलो चरणमा सेनाको ५ करोड र प्रदेश २ सरकारको २ करोड गरी ७ करोड लागतबाट निर्माण सुरु गरिएको वाहिनीले जनायो । परियोजनाको कुल लागत अनुमान २२ करोड छ ।
नेपाल–अंग्रेज युद्धका दौरान अंग्रेज फौजविरुद्ध मधेसवासी नेपालीले देखाएको बहादुरी र नेपाल एकीकरण अभियानमा पुर्याएको योगदानको कदर गर्दै स्मृति उद्यान बनाउन थालिएको थापाले बताए ।
मुख्यमन्त्री राउतले यो आयोजना राष्ट्रिय गौरवको भएको बताउँदै यसले मधेसवासी नेपाली र सेनाबीचको सम्बन्ध मजबुत बनाउने बताए ।