निजगढ, ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज निजगढ नगरपालिकाको आयोजनामा प्रभातफेरि गरिएको छ ।
निजगढ नगरपालिका कार्यालयबाट शुरु भएको सो कार्यक्रम पूर्वपश्चिम राजमार्गको बुद्धचोक परिक्रमापछि निजगढ ८ स्थित शुभकार्य ब्यैङ्गकुटमा पुगेर समापन गरिएको थियो ।
प्रभातफेरिमा निजगढ नगर क्षेत्रमा संचालनमा रहेका सहकारी संस्थाका संचालक पदाधिकारीहरु र कर्मचारीहरु आआफ्नो संस्थाको ब्यानरसहित सहभागी बनेका थिए ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख सुरथ पुरीले केही सहकारी संस्थामा देखिएका कमिकमजोरीको आधारमा सबैलाई एउटै कोटीमा राखेर मूल्याङ्कन गर्न नहुने बताउनुभयो । उहाँले धेरै सहकारी संस्थाहरुले विपन्न र कमजोर आर्थिक अवस्था भएकाहरुलाई व्यवसाय संचालन गर्न र घराँयसी खाँचो टार्न महत्वपूर्ण सहयोग गर्दैआएको दाबी गर्नुभयो । ‘केही कमिकमजोरीका बाबजुद विपन्न समुदायको आर्थिक अवस्था उकास्न सहकारी संस्थाहरुले सहनीय कार्य गर्दैआएका छन ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सचिव थानेश्वर सापकोटा, बचत तथा ऋण सहकारी नेफ्स्कुनकी केन्द्रीय सदस्य तथा निजगढ महिला साकोसकी अध्यक्ष शोभा राउतलगायतले सहकारी अभियानको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, प्रशाशन शाखा प्रमुख अजय उप्रेती, अवतार साकोसका अध्यक्ष अजय लामा तथा लोकप्रिय साकोसका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईं लगायतको सहभागिता रहेको थियो ।
नगर प्रमुख पुरीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन नगरपालिका सहकारी शाखा प्रमुख सुष्मा फुयालले गर्नुभएको थियो ।
सहकारी दिवसकै अवसरमा नगरपालिका कार्यालयले नगर क्षेत्रभित्रका सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, लेखा संयोजक, कर्जा संयोजक, संचालक पदाधिकारीहरुलाई सहभागी गराएर संस्था संचालन तथा व्यवस्थापनसम्बन्धि हिजो एकदिने तालिम संचालन गरेको थियो ।
उद्यमशीलता र पारदर्शिता ः सहकारीको प्राथमिकता भन्ने नाराका साथ यस वर्ष सहकारी दिवस मनाइएको हो ।



