गोकुल घोरसाइने, निजगढ, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बारा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश धिमाललाई नगरको विकासको लागि पुराना योजना कार्यान्वयन र नयाँ योजना समावेश गर्न माग गर्दै आज ध्यानाकर्षणपत्र बुझाउनु भएको छ ।
नगरपालिका कार्यालयमा प्रतिनिधि सभा सदस्य धिमालको स्वागतमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख पुरीसहित जनप्रतिनिधिहरुले संघीय सरकारले चालु आर्थिक वर्षमा समावेश गरेका योजनाहरुको कार्यान्वय र आगामी वर्षको लागि नयाँ योजनाको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन ।
नगर प्रमुख पुरीले बुझाएको पत्रमा निजगढ– काठमाण्डौं द्रुत मार्गदेखि नदीजन्य पदार्थ उत्खननमा स्पष्ट मापदण्ड बनाइनुपर्ने माग गरिएको छ । तत्काल र आगामी वर्षमा पहल पहल गर्नुपर्ने १ दर्जनभन्दा बढी योजनाको विवरणसहित पत्र बुझाइएको हो ।
तत्काल गर्नुपर्ने योजनाहरुको सूचीमा हालैको हावाहुरीबाट केरा र मकैबालीमा भएको क्षति र पीडित किसानहरु राहत र क्षतिपूर्तीको लागि आवश्यक समन्वय, सहकार्य र सार्थक पहललगायत विषयहरु समावेस छन ।
त्यसैगरी चालु आ.व. २०८२।०८३ को लागि स्वीकृत भई कार्यान्वयनको चरणमा स्थगित भएका निजगढ स्मार्ट सिटीमा स्मार्ट एप्लिकेशन, बसपार्क निर्माण तथा निजगढ नगरपालिका वडा नं. १ सिंगौलको चौबाटोदेखि शिव मन्दिर कछडिया टोल हाट बजारदेखि उत्तर पिपलटारसम्म सडक स्तरोन्नति, निजगढ न.पा. १३ डम्मरपुर कोलगाउँ रामथली बुङजोर हुँदै निजगढ न.पा. १० मोहोरी सडक कालोपत्रे जस्ता योजना पनि तत्काल पहल गर्नुपर्ने योजनमा परेको छ ।
त्यसैगरी गौरीशंकर क्याम्पस भवन निजगढ नपा ९, लोकप्रिय आधारभूत विद्यालय निजगढ नपा २ र श्री नेरामावि विद्यालय भवन निजगढ न.पा. ११ को भवन निर्माण, निजगढ ४ स्थित गणेशमान सिंह पार्क मोहोरी व्यवस्थापन, निजगढ ९ को आर्यघाट निर्माणलगायतका योजनाहरुलाई पनि सोही सूचीमा राखिएको छ ।
आगामी आ.व. २०८३।०८४ को लागि भने जेनजी आन्दोलनको क्रममा क्षति पुगेको नगरपालिका तथा वडा कार्यालयको भवन निर्माणको बजेट व्यवस्थापन, बहुप्राविधिक शिक्षालयको स्थापना, नगर अस्पताल सञ्चालनको लागि कम्पाउण्ड वाल निर्माण, उपकरण र उपचार कक्षको स्थापनामा आवश्यक सामाग्री व्यवस्थापनको लागि पहल भनिएको छ ।
त्यस्तै बकैया खोलाको मोहोरीको ३ स्थानमा सिँचाई चेक ड्याम निर्माण, नेपाल सरकारको इकाइको रुपमा कृषि तथा भेटनरीको संयुक्त तालिम तथा प्रशिक्षण केन्द्रको स्थापना, चिस्यान केन्द्र निर्माण, केरा जोनलाई व्यवस्थित बनाउन केराको उत्पादन भण्डारण तथा बिक्री वितरणमा आवश्यक बजेटको लागि पहल गरिदिन पनि सांसद धिमालसंग माग गरिएको छ ।
बकैया खोलालगायत भक्तलाल, बगर, शक्ति खोला र खहरेखोलाहरु नियन्त्रण तथा डम्बरपुर कोलगाउँ हुँदै मोहोरिसम्मको कालोपत्रे सडक निर्माण, वडा नं. १० जाने बाटोको लागि भक्तलाल खोलामा पक्की पुल निर्माण, वडा नं ३ को बगरे खोलामा पक्की पुल निर्माण र नगरका ७ वटा खहरे खोलाहरुमा ट्रस ब्रिज निर्माण गरिनुपर्ने पनि भनिएको छ । शहिद हिरालाल रंगशालाको बजेट निकासाको लागि पनि पहल गरिदिन पनि भनिएको छ ।
पत्रमा एकीकृत निजगढ विकास गुरुयोजना निर्माण गरी व्यवस्थित शहरीकरणको पहलको लागि पनि पहल गर्न सांसद धिमालसंग आग्रह गरिएको छ । संघीय योजनामा समावेश भएर पनि कार्यान्वयनमा नआएका वडा नं. १, २, ३, ११, १२ र १३ मा खानेपानी योजना संचालन, चुरे तथा भावर क्षेत्रमा रिचार्ज पोखरी निमार्ण, वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति हुनै नदिन र भौतिक तथा आर्थिक क्षतिलाई न्युनीकरण गर्दै सोबाट पीडितलाई उचित राहतको व्यवस्था नीतिगत रुपमा नै गरिदिनुहुन पनि भनिएको छ ।
त्यसैगरी निजगढ नपामा जग्गाधनी पूर्जा प्राप्त गर्न बाँकी रहेकाहरुलाई धनीपूर्जा वितरण र भोगअनुसार नक्सा नमिलेको नम्बरी जग्गाको समेत हालसाविक गर्नको लागि भूमि सम्बन्धी ऐन र वन ऐनमा आवश्यक सुधारको लागि सार्थक पहल गरिदिनुहुन पनि अनुरोध गरिएको छ । निर्माणाधिन तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणाधिन रहेकोमा सोलाई द्रुतगतिमा निर्धारित समयावधिभित्रै सम्पन्न गर्न तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि प्रस्ताव भै बजेट समेत विनियोजन गरिएकोमा सोलाई समेत सुरु गर्न सार्थक पहल गरिदिनुहुन अनुरोध छ । पत्रमा भनिएको छ ।
नगर प्रमुख पुरीले ढुङ्गा, गिट्टीसम्बन्धी मापदण्डलाई नीतिगत रुपमा नै स्पष्ट बनाउन आवश्यक पहलको लागि पनि सांसद धिमालसंग आग्रह गर्नुभएको छ ।
ज्ञापनपत्र बुझ्दै सांसद धिमालले नगर प्रमुख पुरीले बुझाएको योजनासहितको पत्र निजगढको चौतर्फी विकासको लागि महत्वपूर्ण रहेको बताउदै योजनाहरुको कार्यान्वयनको लागि आफूले पहल गर्ने बताउनुभयो ।
‘पत्रमा नगरको विकासको लागि महत्वपूर्ण योजनाहरु समेटिएका छन, उहाँले भन्नुभयो, यसको कायान्वयनमा इमान्दारिताका साथ काम गर्नेछु ।’
कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, विभिन्न वडाका वडा अध्यक्षहरुलगायत रास्वपाका कार्यकर्ता र संचारकर्मीहरुको पनि उपस्थिति रहेकोे थियो ।

