निजगढ,
छुट्टाछुट्टै घटनामा निजगढका २ जना युवा पेस्तोल र लागू औषधसहित पक्राउ हिजो परेका छन ।

निजगढ नगरपालिका– ६ का २२ वर्षीय सुमन आचार्य रौतहटको चन्द्रपुर नगरपालिका– ४ चन्द्रपुरस्थित देउराली चोकबाट दुई वटा स्वचालित पेस्तोलसहित पक्राउ परेका हुन भने निजगढ ७ का योजना टोलका २७ वर्षीय मुकेश दर्लामीलाई प्रहरीले महोत्तरीको बर्दिवास नगरपालिकास्थित महेन्द्र राजमार्गको भब्सी पुल नजिकैबाट लागू औषध ट्रामाडोलसहित पक्राउ गरेको हो ।

आचार्यलाई पेस्तोलसहित सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको छ ।

बरामद पेस्तोल तथा अन्य सामानसहित निजलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

त्यसैगरी दलार्मीलाई ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी सहायक निरीक्षक कुलराम चौधरी तथा लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको थियो ।

शंकास्पद देखिएका दर्लामीलाई रोकेर प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा उनले बोकेको झोलामा कालो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको ३ सय पत्ता (३,००० पिस) ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ ।

बरामद लागूऔषधसहित पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय