गोकुल घोरसाइने, निजगढ । बाराको वन क्षेत्रमा बाघलगायतका वन्यजन्तुको आक्रमणबाट सर्वसाधारणको ज्यान जाने घटना बढेपछि डिभिजन वन कार्यालय बाराले वन क्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ ।

डिभिजन वन अधिकृत राजिवकुमार झाले आइतवार सूचना निकालेर पूर्वमा निजगढको बकैया खोला, पश्चिम त्रिभुवन राजपथको सिमरा–अमलेखगञ्ज सडकखण्ड, उत्तरमा बारा र मकवानपुर जिल्लाको सिमानामा पर्ने चुरे क्षेत्र र दक्षिणमा सिमरा-बडहर्वा हुदै कोल्हबी जाने कच्ची सडकको चार किल्लाभित्र पर्ने वन क्षेत्रमा भाद्र २२ गतेदेखि भाद्र मसान्तसम्म सर्वसाधारणको प्रवेशमा रोक लगाएको जनाइएको हो ।

बाघको आक्रमणबाट आइतवार बिहान सिमरामा फेरि एकजना वृद्धको ज्यान गएपछि वन कार्यालयले सर्वसाधारणको सुरक्षाको लागि वन क्षेत्र प्रवेशमा रोक लगाएको हो । च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणबाट जीतपुरसिमरा उपमहानगरपालिका- १ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएका थियो ।

सूचनमा निषेधित क्षेत्रमा सर्वसाधारणलाई आवत जावत गर्न, चरिचरणको लागि घरपालुवा जनावर लैजान, च्याउ वा अन्य वन्यतरकारी टिप्न, काठ-दाउरा, खरघाँस, पात, सोत्तर लगायतका वन पैदावार लिन, भोज भतेर वा पिकनिक कार्यमा पनि रोक लगाइएको जनाइएको छ ।

त्यसैगरी वन क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम लोकमार्ग, सहायक मार्गमा पनि गाडी नरोक्न वा पार्किङ्ग नगर्न पनि वन कार्यालयले अनुरोध छ । तर अति जरुरी कामले वन प्रवेश गर्नुपर्ने अवस्था आएमा डिभिजन वन कार्यलयको सहमति लिएर मात्र प्रवेश गर्न गराउन पनि भनिएको छ ।

यसअघि बाघको आक्रमणबाट जिल्लाकै अम्लेखगञ्जमा ३ जना स्थानीयहरूको ज्यान गइसकेको छ । आइतवारको घटनासहित पछिल्लो २ महिनामा बाघको आक्रमणबाट ४ जनाको ज्यान गएको हो ।

कार्यालयले नरभक्षी बाघ नियन्त्रणको प्रयास जारी रहेको जानकारी गराउदै वन जंगलमा जाँदा बाघ र हात्ती लगायतका वन्यजन्तुको आक्रमण हुन सक्ने प्रवल संभावनालाई मध्य नजर गरी सीमा तोकेर वन प्रवेशमा रोक लगाएको हो ।

सूचनामा अगाडि भनिएको छ– ‘कोही कसैले अटेर गरीसूचनाको बर्खिलाप गरे गराएमा कानुन बमोजिम कारबाही हुने तथा वन जंगलमा आवत जावत, प्रवेश गर्दा कुनै किसिमले धनजनको क्षति हुन गएमा सोको सम्पुर्ण दायित्व सम्बन्धित व्यक्तिको नै हुने व्यहोरा पनि जानकारी गराईन्छ ।’

डिभिजनल वन अधिकृत राजीव कुमार झाको संयोजकत्वमा आइतवार विभिन्न सरोकारवालाहरुको उपस्थितिमा बसेको बैठकले वन ऐन, २०७६ को दफा ९ वमोजिम राष्ट्रिय वन ९सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, साझेदारी वन० मा प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।

उता, पर्सा राष्ट्रिय निकुञ्जले बाघको आक्रमण बढेपछि प्रभावित क्षेत्रमा सिसी क्यामरा जडान गर्ने र नरभक्षी बाघलाई नियन्त्रणमा लिन चितवनबाट प्राविधिक टोली समेत आइसकेको जनाएको छ । टोलीले नरभक्षी बाघको खोजी गरेर नियन्त्रणमा लिने प्रयास गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय