निजगढ,
संघीय सरकारको शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷२०८३ को लागि निजगढ नगरपालिकाभित्र कार्यान्वय गर्न लागेको विभिन्न योजना निर्माणस्थलको प्रतिनिधि सभा सदस्य अच्युत मैनालीसहित टोलीले मंगलवार निरीक्षण गरेको छ ।
टोलीले बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मैनालीको संसद विकास कोष र मन्त्रालयको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वीरगजमार्फत संचालन हुने निजगढ नगरपालिका वडा नम्बर १ स्थित शिवमन्दीर चौबाटोबाट पिपलटारसम्मको कालोपत्रे सडक, वडा नम्बर २ को लोकप्रिय आधारभूत विद्यालय, निजगढ वडा नम्बर ४ को गणेशमान (मोहोरी) पार्क, वडा नम्बर ९ को बस पार्क, गौरीशंकर क्याम्पस, वडा नम्बर ११ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र वडा नम्बर १३ को डम्बरपुर–कोलगाउँ–रामथली–बुङ्गजोर कालोपत्र सडक आयोजनास्थलको स्थलगत अनुगमन गरेको हो । टोलीले वडा नम्बर ३ मा निर्माणाधिन निजगढ– फापरबारी कालोपत्रे सडकको पनि निरीक्षण गरेको होे ।
शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वीरगञ्जमार्फत ती आयोजनाहरुको कार्यान्वन गर्न लागेको हो । योजना कार्यान्वय गर्ने क्रममा मन्त्रालयका प्रविधिकसहितको टोलीले साइट निरीक्षण गरेको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो । ‘अब नगरपालिकाले बजेट अनुसार कामको प्राथमिकता तोकेर पठाउँछ, नगरप्रमुख पुरीले भन्नुभयो, त्यसपछि कार्यालयले आयोजनाको ठेक्का लगाएर काम शुरु गर्नेछ ।’ उहाँले निजगढ नगरपालिकाको सिफारिस र संघीय सांसद मैनालीको पहलमा आयोजना छनौट भएर कार्यान्वय हुने अवस्थामा पुगेको पनि जानकारी दिनुभयो ।
मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा वडा नम्बर १ को सडक स्तरोन्नतिको लागि ३ करोड, वडा नम्बर २ को विद्यालयको लागि १ करोड, वडा नम्बर ४ स्थित मोहोरी पार्कमा र निजगढ ९ को बस पार्क निर्माणको लागि ३ रकम विनियोजन गरेको छ ।
त्यसैगरी वडा नम्बर ९ गौरीशंकर क्याम्पसमा र वडा नम्बर १० को विद्यालयको लागि १÷१ करोड तथा वडा नम्बर १०, १२ र १३ लाई जोडने डम्बरपुर–कोलगाउँ–रामथली–बुङ्गजोर कालोपत्र सडक निर्माणको लागि चालु आर्थिक वर्षमा काम गर्ने गरी ३ करोड रुपैया छुट्याएको छ ।
टोलीमा निजगढ नगरपालिकाका नगर प्रमुख पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष तिलक घलान, खानेपानी तथा सरसफाई समिति निजगढका अध्यक्ष सुदर्शन कोइराला, गौरीशंकर कलेज संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, वडा नम्बर २ का पूर्ववडा अध्यक्ष केशव ढोडारी, समुदायमा आधारित प्रसुति गृह संचालक समितिका अध्यक्ष माधव न्यौपानेको सहभागिता रहेको थियो ।
त्यसैगरी टोलीमा सघन सहरी विकास कार्यालयका इन्जिनियर रमेश गुप्ता, इन्जिनियर शिवम साह, निजगढ नगरपालिकाका इन्जिनियर अशोक कुशवाहा, रुपेस साह, वडा नम्बर १३ का वडा सदस्य दिपक न्यौपानेस्थानीय सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।



