निजगढ,
निजगढ नगरपालिका वडा नम्बर ५ स्थित सार्वजनिक माध्यमिक विद्यालय, बागदेवले विद्यार्थीहरुको थप सुविधाको लागि स्कुल बस संचालन गर्ने भएको छ ।

विद्यालयले खरिद गरेको नयाँ स्कुल बस सोमवार विद्यालय परिसरमा आइपुगेको र आवश्यक कार्यविधि तयार पारेर केही दिनभित्र नै बस संचालनमा ल्याइने प्रधानाध्यापक हस्तबहादुर लामाले जानकारी दिनुभयो । विद्यालयले आफ्नै स्रोत ३० लाख ५० हजार रुपैया खर्चेर टाटा कम्पनीको ४१ सिट भएको बस खरिद गरेको हो ।

संचालन कार्यविधि तयार पार्ने क्रममा आफूहरु रहेकोले बसको प्रयोग र संचालनबारे अहिले नै सबै जानकारी दिन नसकिनेभन्दै प्रअ लामाले स्कुल बस संचालनमा आएपछि विद्यार्थीहरुको सुविधा थप हुने र पठनपाठनमा पनि थप सुधार आउन बताउनुभयो ।

‘के कसरी संचालन गर्ने भन्ने बारेमा व्यवस्थापन समिति र अभिभावहरुबीच छलफल गरेर कार्यविधि बनाउन बाँकी नै छ, उहाँले भन्नुभयो, तर यसबाट विद्यालय भवनभन्दा टाढाका विद्यार्थीहरुलाई विद्यालयसम्म आउन र घर फर्किन सुविधा पुग्नेछ ।’ उहाँले स्कुल बस संचालनपछि विद्यालयमा विद्यार्थी संख्यासंगै विद्यालयको पठनपाठनमा पनि थप सुधार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले समितिको निर्णयअनुसार विद्यालयको प्राविधिक धारतर्फ कम्प्युटर विषय अध्ययन गर्ने र तल्लो कक्षाका साना बालबालिकालाई लक्षित गरेर बस सेवा संचालन गर्न लागेको बताउनुभयो । बस संचालनपछि कम्प्युटर विषय अध्ययन गर्ने निजगढ नगरपालिकाभित्रका सबै क्षेत्रका विद्यार्थी र पैदल हिडेर विद्यालय आउन नसक्ने तल्लो कक्षाका साना भाइबहिनीहरुलाई सहज हुने उहाँको भनाई छ ।

विद्यालयको बस संचालनमा आएपछि सामुदायिक विद्यालयतर्फ बस सुविधा शुरु गर्ने सार्वजनिक मावि निजगढ नगरपालिकामा तेस्रो हुनेभएको छ । निजगढ ८ को बकैया ठाकुर मावि र निजगढ २ को लोकप्रिय आधारभूत विद्यालयले विद्यार्थीहरुको लागि स्कुल बस संचालन गर्दैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय