
कलैया,
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर– १४ बघवनमा पुरानो रिसिबीका कारण भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ भने अन्य फरार अभियुक्तहरूको खोजी भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गत जेठ २९ गते साँझ करिब ६ः१५ बजे बघवनका ५० वर्षीय नन्दु राउत कुर्मीलाई सोही स्थानका ४० वर्षीय उमेश जैसवालसमेत ६ जना व्यक्तिहरूले मिलेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए । गम्भीर घाइते भएका कुर्मीलाई तत्काल प्रादेशिक अस्पताल कलैया बारा पु¥याइएकोमा चिकित्सकले साँझ ७ः२० बजे मृत घोषणा गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानपश्चात् घटनामा संलग्न रहेको आरोपमा सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरिएको थियो । उनलाई ज्यान सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
फरार रहेका अन्य अभियुक्तहरूको खोजीका लागि प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले असार ४ गते थप ३ जनालाई पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित सागर लामिछानेको घरमा लुकिछिपी बसेको अवस्थामा एक जना महिला र पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ शान्ति टोलस्थित बसिर मियाँको घरमा लुकिछिपी बसेका २ जना पुरुषलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनालाई बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यस घटनामा संलग्न अन्य फरार आरोपितहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ ।