
निजगढ,
निजगढ नगरपालिकाले नगर क्षेत्रमा बाढी, पहिरो र खहरे नियन्त्रण गर्न यो वर्ष पनि नदी च्यानेलाइजको लागि एक्साभेटर भाडामा लिने भएको छ ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिको शनीवार बसेको बैठकले नगर क्षेत्रमा नदी च्यानेलाइज गरेर बाढी, पहिरो, डुवान जस्ता विपद्बाट हुने धनजनको क्षति नियन्त्रण र न्यूनीकरण गर्न एक्साभेटर भाडामा लिने निर्णय गरेको हो ।
बैठकले शंभावित रोगको संक्रमण नियन्त्रण तथा विपद्मा आवश्यक पर्ने औषधि र सामग्री खरिद गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा बकैया, भक्तलाल, शक्ति, खयर, गडवन, टिकुली, पानिसरा, भालुखोला, भमरा, बगर र धन्सार लगायतका खोलाहरूमा आवश्यकताअनुसार नदी च्यानेलाइज गर्ने निर्णय भएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले जानकारी दिनुभयो ।
नगर क्षेत्रमा हुने विपद् व्यवस्थापनको लागि स्थानीय स्रोत साधन अपुग भएमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस निजगढ, जिल्ला तथा प्रदेशस्तरीय विपद् समितिहरू, संघीय प्राधिकरण, गैरसरकारी निकायहरूसँग पनि समन्वय गर्दै कार्यअगाडि बढाइने निर्णय पनि भएको उहाँले बताउनुभयो ।
निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरीको कार्यकक्षमा बसेको समितिको बैठकले च्यानेलाइजको क्रममा निकालिएको नदिजन्य पदार्थ स्थानीय सडकहरुको मर्मत कार्यमा प्रयोग गरिने र बकैया खोलाको कटानले जोखिममा परेको निजगढ वडा नम्बर ९ स्थित आर्यघाट र उक्त स्थानलाई सुरक्षित राख्न स्थानीय ढुंगाको प्रयोगबाट तारजालीको स्पर निर्माण गर्ने निर्णय पनि गरेको छ ।
समितिले विपद व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी तुल्याउन सुरक्षा निकायहरूको लागि आवश्यक पर्ने र स्वास्थ्य सामग्री खरिदका लागि कार्यालयलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
खुला मुहानको पानी प्रयोग गर्नेहरुलाई शुद्ध पानी सुनिश्चित गर्न शुद्धीकरण रसायन खरिद गरी वितरण गर्ने र यसको लागि स्वास्थ्य संस्थामार्फत कर्मचारी परिचालन गरिने पनि जनाइएको छ ।
शंभावित विपद् अवधिमा उद्धार, राहत र पुनःस्थापनाका कार्यहरू सहज बनाउन राजनीतिक दल, सुरक्षा निकाय, संघसंस्था, नागरिक समाज लगायतलाई सक्रिय सहभागिताको लागि अनुरोध गर्ने निर्णय पनि गरिएको नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो ।
विपद् व्यवस्थापनलाई सशक्त बनाउन नगरपालिका अन्तर्गत रहेको आपतकालिन कार्य सञ्चालन केन्द्रलाई पूर्ण रूपमा सक्रिय राख्ने र सोका लागि आवश्यक कर्मचारी व्यवस्था गर्ने निर्णय भएको नगर प्रमुख पुरीको भनाई छ ।
त्यसैगरी बैठकले वर्षातको समयमा हुनसक्ने भौतिक र मानवीय क्षति न्यून गर्न स्थानीय सञ्चारमाध्यममार्फत जनचेतनामूलक सामग्री प्रसारण गरिने र विपद् सम्बन्धि सूचना सम्प्रेषणलाई सहज बनाउने उद्देश्यले सामाजिक सञ्जालमा विपद् व्यवस्थापनसम्बन्धी ग्रुप बनाएर सोही ग्रुपमार्फत विपद् सम्बन्धि सूचना सम्बन्धित निकायमा पु¥याइने पनि निर्णय भएको जनाइएको छ ।