बारा ।
भूमि समस्या समाधान आयोग बाराले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँचको काम तीव्र गतिमा अगाडि बढिरहेको जनाएको छ ।
आइतवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८, विरेन्द्रनगरमा आयोगले आयोजना गरेको नापजाँच कार्यक्रममा सहभागिता जनाउँदै आयोग बाराका अध्यक्ष भरतबहादुर घलेले जीतपुरसिमरा र निजगढ नगरपालिकाका विभिन्न वडामा जमिनको नापजाँच कार्य सक्रियताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार, भूमिहिन, सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण गर्न हाल जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १६, १८, र २१ मा चार वटा वडा र निजगढ नगरपालिकाका वडा नम्बर ४ र १० का दुई वटा वडामा गरी कुल छ वटा नापजाँच टोली फिल्डमा खटिएका छन् । प्रत्येक टोलीमा एक जना सर्वेक्षक तथा दुई जना अमिन गरी तीन जना प्राविधिक कर्मचारी छन् ।
विगतमा नापजाँच गरिएका जीतपुरसिमरा वडा नम्बर १८ स्थित विरेन्द्रनगरका ६१ वटा कित्ता जमिनको पुनः परीक्षण समेत आइतवार गरिएको छ । सो क्षेत्रमा दलित तथा भूमिहीन समुदायको बसोबास रहेको भन्दै आयोगले सो स्थानलाई प्राथमिकतामा राखेर लालपुर्जा बनाउने कार्यको तयारी गरिरहेको अध्यक्ष घलेले बताउनुभयो ।
नापजाँच कार्यमा स्थानीयको सहभागिता उत्साहजनक रहेको बताउँदै घलेले नापजाँचका क्रममा अनावश्यक विवाद नगर्न सबैमा आग्रह गर्नुभयो । “सिमाना विवाद भएमा प्राविधिक टोलीले नापजाँच रोक्नुपर्ने र छुटेको स्थानमा फेरि टोली पुग्न नसक्ने भएकोले कर्मचारीहरुलाई विवादरहित ढङ्गले काम गर्न सबैले सहयोग गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
हालसम्म कति जमिनको नापजाँच सम्पन्न भइसकेको भन्नेबारे अझै एकीन विवरण आउन बाँकी रहेको उहाँले जनाउनु भयो । तथापि, विवरण चाँडै सार्वजनिक गरिने उहाँको भनाई छ ।
यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा नापजाँचमा सक्रिय सहभागी रहेका सो वडाका पूर्वअध्यक्ष केदार बजगाईंका अनुसार, हालसम्म झन्डै ३० बिघा क्षेत्रफलमा नापजाँच सम्पन्न भइसकेको छ । उहाँका अनुसार, बसोबास क्षेत्रको नापजाँचमा समय लाग्ने भए पनि खाली क्षेत्रमा छिटो काम सकिने देखिएको छ । “एउटै वडामा नापजाँच कार्य पूरा हुन प्राविधिकरूपमा ५÷६ महिना लाग्न सक्छ ।” बजगाईंले बताउनुभयो ।
दोस्रो चरणको नापजाँच कार्य सुरु गर्न आयोजित मेशिनरी पूजामा आयोग बाराका अध्यक्ष घले, आयोग जिल्ला सदस्य कलावती पासवान, जीतपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी एवं पालिकास्तरीय सहजीकरण समितिका सदस्यहरुलगायतको उपस्थिति थियो ।
त्यसैगरी, नेपाली कांग्रेस जीतपुरसिमरा नगर सभापती छवि शर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य बसन्त खतिवडा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, वडा नम्बर १८ का वडा अध्यक्ष चतुरबावु वाग्ले, वडा सदस्य लक्ष्मीमाया वल, कांग्रेस नेतृ मेघा शाही र क्षेत्रीय सचिव राजेश भण्डारी लगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।



