
सिमरा,
बाराको जीतपुरसिमरा उपमहानगर वडा नम्बर– २१ अमलेखगञ्जस्थित नेपाल बिटुमिन तथा ब्यारेल उद्योगमा आगलागी भएको छ । मंगलवार दिउँसो विद्युत् सर्ट भई आगलागी भएको उद्योग प्रशासनले जनाएको छ । उद्योगका कर्मचारी ज्ञान भरोसी प्रसाद गुप्ताले अचानक विद्युत् सर्ट भएर आगलागी भएको बताउनुभयो ।
नेपाल आयल निगम अमलेखगञ्ज डिपोसँगै रहेको उद्योगमा लागेको आगो नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीले २ घण्टापछि नियन्त्रणमा लिएको थियो ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दाहालले आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेका बताउनुभयो । ‘के–के क्षति भयो भन्ने अध्ययन भइरहेको छ, उहाँले भन्नुभयो, तर उद्योगभित्र रहेका कच्चा पदार्थहरू जलेर नष्ट भएको भन्ने सूचना छ ।’ उहाँले भन्नुभयो ।
उद्योगमा लागेको आगो नियन्त्रण लिन नेपाल आयल निगम अमलेखगञ्ज डिपो, जीतपुरसिमरा, कलैया र हेटौंडा उपमहानगरको दमकल प्रयोग गरिएको थियो ।
बिटुमिन तथा ब्यारेल उद्योगले सडक कालोपत्र गर्न प्रयोग गरिने कच्चा पदार्थ उत्पादन गर्दैआएको छ ।