
नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला कार्यसमिति बाराले २८६० औं सोनाम ल्होछार पर्वको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा तामाङ्ग सास्कृतिक महोत्सव गर्ने भएको छ ।
कार्यक्रम बारे जानकारी दिने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को रामनगरमा आइतबार भएको पत्रकार सम्मेलनमा घेदुङ्गका जिल्ला अध्यक्ष एंवम निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सूर्यबहादुर घलानले कार्यक्रमको जानकारी दिएका थिए ।
आगामी माघ १९ र २० गते गरी २ दिनसम्म हुने सो महोत्सवमा सांस्कृतिक कार्यक्रमसहित विशेष पूजापाठसमेत आयोजना गरिने बताइएको छ ।
कार्यक्रममा रोज मोक्तान, विशाल काल्तान, जीतु लोप्चन, साम्देन मुक्तानसहित राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुद्वारा गीत, नृत्यसहित सांकृतिक र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत बताइएको छ ।
जीतपुरसिमरा वडा नम्बर १७ का वडाध्यक्ष भिम रुम्बाले तामाङ्ग समुदायको भाषा, संस्कृतिक विकास र पहिचान अभिवृद्धिको लागि कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले तराई क्षेत्रमा बसोबास गर्ने तामाङ्गहरुको संस्कृति लोप हुने अवस्थामा पुगेको र यसबाट समुदायको अस्तित्व नै संकटमा परेको बताए । उनले तामाङ्ग समुदायको पहिचान अभिवृद्ध गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रम सफल पार्न स्थानीय अन्य समुदायको पनि साथ र सहयोग रहेको बताए ।
एक तथ्याङ्क अनुसार बारा जिल्लामा तामाङ्ग जातिको जनसंख्या करिव ८५ हजार रहेको बताइएको छ । जिल्लाको निजगढ, कोल्हबी र जीतपुरसिमरामा तामाङ्ग समुदायको मुख्य बसोबास रहेको बताईएको छ ।