जिल्लाका खाँडाचक्र नगरपालिका–५ की विपना हमाललाई लकडाउनबारे राम्रोसँग थाहा छ। तर काम नगरी खान नपुग्ने भएकाले उनी लकडाउनको पालना नगरी दिनहुँ काममा निस्कन्छन्।

नौजनाको संयुक्त परिवारको पेट पाल्नकै लागि भए पनि कोरोनाको त्रासका बीच दैनिक काममा निस्कनु परेको उनको भनाइ छ। ‘नगरी काम, पुग्दैन खान कसरी लकडाउनको पालना गरुँ’, उनले भनिन्, ‘परिवारको पेट पाल्नकै लागि भए पनि दैनिक काममा निस्कन्छु। साथै मेलापात घाँस, दाउरा ल्याएर छुटेको छैन।’ खाँडाचक्र नगरपालिका–४ की लालकौरा विकको पनि समस्या उस्तै छ।

गाउँको बसाइ गाईबाख्रा चराउँदै बित्छ। ‘पशुलाई घाँस र चुल्होमा आगो बाल्न काम नगरी सुख छैन’, उनले भनिन्, ‘गाउँमा महामारी आउला नआउला तर महामारी आउँछ भनेर भोको पेटलाई रोकेर बस्न सकिँदैन।’ उनीहरु जस्तै काम गरी खाने यहाँका सयौं परिवारलाई लकडाउनले छाक टार्न समस्या छ। गाउँमा तरकारी उत्पादन गरेर बेच्दै परिवार पाल्नेसमेत दिनहुँ बजारमा निस्कने गर्दछन्। गाउँमा महिलाले नै अधिकांश काम गर्ने भएकाले लकडाउनमा पनि पुरुषको तुलनामा बढी काममा निस्किने गरेका हुन्।

‘गाउँमा ग्यासको प्रयोग निकै कम हुन्छ। अधिकांश परिवार दाउरा बालेर खाना पकाउँछन्। संयुक्त परिवारमा एक भारी दाउरा हप्ता दिन पुग्दैन’, स्थानीय केसु विकले भनिन्, ‘लकडाउन पालना गरी घरभित्रै बसेर दाउरा नल्याउने हो भने साँझ चुल्होमा आगो बल्दैन।’

गाउँ गाउँमा स्थानीय सरकारले लकडाउनको पालना गर्न अनुरोध गरे पनि मानिसकोे चहलपहल घटेको छैन। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी मनराज सिम्खडाले गाउँमा नयाँ मान्छेको आउजाउ नरोकिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय