संरक्षणको अभावमा दुर्लभ पाटे बाघको मुख्य बासस्थानको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जभित्रको जंगलमा पर्ने हलखोरिया दह घाँसेमैदानमा परिणत हुदै गएको छ ।
प्रचुर पर्यटकीय शंभावना बोकेको निजगढ नगरपालिकाको सीमाभित्र पर्ने हलखोरिया दह लामो समयदेखि सरसफाइ नहुदा पानी सुक्दै गएर घाँसेमैदानमा परिणत हुन थालेको हो ।
निकुञ्जको जंगलभित्र प्राकृतिक पानीको एक मात्रै ठुलो स्रोत हलखोरिया दह सुक्न थालेपछि वन्यजन्तुहरूलाई पिउने पानीको अभाव हुन थालेको छ । पर्सा मधेस प्रदेशको एक मात्रै राष्ट्रिय निकुञ्ज हो । निकुञ्जभित्र वन्यजन्तुहरूका लागि पिउने पानीको ठुलो समस्या छ । पसाहा नदीको किनारामा पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ घना जंगलभित्र २० हेक्टरभन्दा धेरै भूभागमा फैलिएको यो दह पर्यापर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।
पछिल्लो समय मिचारा प्रजातिका झारहरू फैलिएर सो दह घाँसेमैदान जस्तो देखिन थालेको छ । बाह्रै महिना पानीसहितको दलदले जमिन भएको उक्त क्षेत्रमा मुख्य गरी चराचुरुङ्गी, गौरीगाई, पाटेबाघ र बाघको आहारा प्रजातिका वन्यजन्तुहरूको मुख्य बासस्थान तथा क्रीडास्थलको भएको निकुञ्जले जनाएको छ ।
पर्सा निकुञ्ज दुर्लभ पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाई जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको वासस्थान हो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले हलखोरिया दहको सरसफाइ गर्न कम्तीमा एक करोड बजेट आवश्यक पर्ने बताए । उनले बजेट अभावका कारण दह सरसफाइ गर्न नसकिएको गुनासो गरे ।